![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/11/XxjpbeE007452_20231031_PEPFN1A001.jpg?fit=1568%2C1176)
काठमाडौं । मङ्गलबार गाजा युद्धका क्रममा नौ इजराइली सैनिक मारिएसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या ३२६ पुगेको छ ।
सेनाका अनुसार मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टिनी आतङ्कवादी सङ्गठन हमासद्वारा इजराइलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजराइली सेना युद्धमा होमिएको छ ।
यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजराइली हमलामा मङ्गलबार कम्तीमा ४७ मानिस मारिएका छन् । इजराइलले मारिनेमा अक्टोबर ७ को हमलामा संलग्न हमास कमान्डर पनि रहेको बताएको छ ।
![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/11/CnyztpE007005_20231101_PEPFN1A001-768x512.jpg?resize=750%2C500&ssl=1)
राति हुनुभन्दा पहिला बाक्लो जनसङ्ख्या भएको जबालिया शिविरमा ठूलो विस्फोट हुँदा वरपरका भवनका बाहिरी भाग क्षतिग्रस्त भएका थिए भने फोहोरले भरिएको एउटा गहिरो खाडल बनेको थियो ।
सयौँ दर्शक र स्वयंसेवकहरू कङ्क्रिट ब्लकहरूमा पञ्जा लगाएर जीवितहरूलाई खोजिरहेका थिए । एएफपीले कम्तीमा ४७ शव फेला परेको बताएको छ ।
स्थानीय बासिन्दा ४१ वर्षीय राघेब अकलले विस्फोटको ‘भूकम्प’ सँग तुलना गर्दै भग्नावशेषमा दबिएका घर र शरीरमा चोट लागेका ठूलो सङ्ख्यामा घाइते र शवहरू देखेको बताए ।
![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/11/AP23304624711955.jpg?resize=750%2C500)
आफ्नो युद्धक विमानहरूले साइटमा एउटा ‘विशाल’ सुरुङ परिसरमा हमला गरेको इजराइलले बताएको छ । इजराइली सेनाका अनुसार उक्त सुरुङ परिसरमा स्थानीय बटालियन कमान्डर इब्राहिम बियारीसहित थुप्रै आतङ्कवादी मारिएका थिए ।
सेनाका प्रवक्ता जोनाथल कन्रिकसले बियारीलाई गत महिना इजराइलमा हमासको हमलाको ‘योजना र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने’ बताए । हमासको उक्त हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको ज्यान गएको थियो ।
इजराइलका नेताहरूले मुलुकको इतिहासमा सबैभन्दा खराब हमलाको बदला लिनका लागि हमासलाई ‘निमिट्यान्न’ पार्ने वाचा गरेका छन् ।
–रासस