images

अदालतको आदेशपछि रिगल ढकाल पक्राउ

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिगल ढकाललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार उनी बाँकेबाटै पक्राउ परेका हुन् ।

नेपालगञ्जका चेतन मानन्धरलाई हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को बाँकी कैद मिनाहा गर्ने निर्णय बदर गर्न आदेश दिएसँगै रिगललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो ।

बिहीबार न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने उनलाई तत्काल थुनामा पठाउन समेत उत्प्रेषणको आदेश दिएको थियो ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।