images

आलमको मुद्दामा लिखित बहस नोट पेस गर्न अदालतको आदेश

काठमाडौं । राजपुर बम विस्फोट काण्डका आरोपी महोम्मद आफताब आलमको मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश दिएको छ ।

रौतहट जिल्ला अदालतबाट बुधवार न्यायाधीश बाबुकाजी बानियाको एकल इजलासले दुई बुँदे आदेश दिएसँगै मुद्दा १५ दिनपछि सरेको छ ।

न्यायाधीश बानियाँको इजलासले दुवै तर्फका वकिलले लिखित बहस नोट र महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णयको रिपोर्ट, सर्वोच्चबाट मुद्दा चल्ने भएपछि साक्षी बकपत्रसहितको टिपोट १५ दिन भित्र पेस गर्न आदेश दिएको हो ।

मंगलबारदेखि चलिरहेको बहसमा वादी नेपाल सरकारको तर्फबाट सरकारी वकिल बद्रीकुमार कार्की, सहायक सरकारी वकिलद्वय दयानिधि रिजाल र विजय महतोले बहस गरेका थिए ।

जाहेरवालाको तर्फबाट पुष्प पौडेलले बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट साबिर हुसैन, सञ्जीव मल्लिक, आफताब आलम, अनन्त कोइराला, अतिकुर रहमान, लालबाबु यादव सहितका अधिवक्ताहरूले बहस गरेका थिए ।

पहिलो संविधान सभाको पूर्वसन्ध्यामा राजपुरमा बम विस्फोटन भएको थियो। सो विस्फोटनमा ठुलो मानवीय क्षति भएको तथा राजा चिम्नी उद्योगमा जिउँदै मानिस जलाएको आरोप आफताब आलमसहित ७ जना माथि लागेको थियो ।

आलम तत्कालीन सांसद एवं नेपाली कांग्रेसका नेता हुन् ।