images

रेशम चौधरी र नक्कली शरणार्थी प्रकरणका दुवै मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । रेशम चौधरी र नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका नक्कली शरणार्थी प्रकरणका आरोपितहरु त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए । धरौटीमा छुटेकाहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ ।

न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा मुद्दाको पेशी परेको थियो । तर सुनुवाइ स्थगित भएको छ ।

त्यस्तै रेशम चौधरीलाई आम माफी दिने निर्णय विरुद्धको मुद्दाको सुनुवाइ पनि स्थगित भएको छ ।

सर्वोच्च अदालतका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो । गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

जेठ १६ गते दर्ता गरिएको रिटमा जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश भएको थियो । राष्ट्रपति कार्यालयबाट चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारणसहितको जवाफ सर्वोच्च अदालतमा पेश गरेपछि कात्तिक २३ गतेका लागि पेशी तोकिएको थियो ।