images

प्रधानसेनापतिको रोलक्रममा ल्याउन लागिएका उपरथी पाण्डेले दिए राजिनामा

काठमाडौं । भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।

उनले दिएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको नेपाली सेनाले जनाएको छ ।

पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको विवरणहरु सञ्चार माध्यममा आएपछि यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

पाण्डेको उमेर विवादमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ दिन अघि मात्रै निर्देशन दिएको थियो । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि त्यसमाथि छानबिन गर्न रक्षा मन्त्रालयलाई पत्राचार गरिएको थियो ।

रक्षा मन्त्रालयले छानबिनका जंगी अड्डालाई निर्देशन दिएसँगै सेनाले समेत यो विषयमा समिति बनाएर छानबिन अघि बढाएको थियो ।

समितिले छानबिनका क्रममा जन्ममितिमा कैफियत भेटेपछि उपरथी पाण्डेले राजीनामा दिएका हुन् । राजीनामा नदिँदा ‘कोर्ट मार्सल’ हुनसक्ने चेतावनी दिएपछि उनले स्वेच्छिक अवकाश रोजेको बताइएको छ ।