images

‘नेता बन छोरा नेता बन’ भित्रको काव्यकारिता र ‘डायस्पोरिक’ चेत

कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।

 रसवादीहरू आनन्दलाई प्रमुखता दिन्छन् । उपयोगितावादी प्रत्यक्ष प्रयोजनका अर्थमा रहन्छन्, विचारवादीहरूको अर्थमा चिन्तन र चेतना ठूलो हो । अभिव्यञ्जनावादीका अर्थमा अभिव्यञ्जन नै अर्थ, प्रयोजन, उपयोगिता, आनन्द सबैथोक हो । स्वच्छन्दतावादीहरू भावनामा रमाएर शब्द–संकेतमा सलल्ल पोखिन्छन् । स्वयं कवि यी यस्तै आग्रहमा बेवास्तामा रही काव्य गर्छन् । वादको विवेचना गर्ने काम सर्जकको नभई अरूलाई छाडिएको हुन्छ । तर, ऊ जीवन र यसको परिवेशबाट टाढा भने रहन सक्तैन । 


कवि सर्वज्ञलाई कसरी लिने ? मेरो आग्रह पनि छैन, अनुराग पनि छैन । तर अक्षरमा भेटिए–पोखिएको सर्वज्ञलाई भन्दा ‘युधिष्ठिर’, ‘जुवाघर’ र ‘क्यासिनो’ मा जुवा साहित्यमा भेटेथें । त्यहाँ जुवामा सबैले गुमाउने मात्र हो, सधैं पराजित भएर जीवन किन बर्बाद पारेका होलान् भन्ने विम्ब निर्माण गरेको पाएँ । ‘साँढे’ मा भने सर्वज्ञलाई पशु विम्ब निर्माण गरी समाजलाई छेकमछेड गर्ने व्यंग्यकारका रूपमा पाएँ । यी दुई भेटाइले सर्वज्ञको प्रवृत्ति नवीन प्रयोग हो भन्ने लागेथ्यो । ‘पुनर्वास’ मा भेटेको सर्वज्ञ भने राष्ट्रप्रेम, देशभक्ति, संस्कृति र पहिचानकर्ता, मानवताको फराकिलो मूल्य राख्ने सीमा साहित्यकारका रूपमा पाएँ ।


‘पुनर्वास’ ले मलाई अलि बिझ्नेगरी घोच्यो र भावनामा छचल्क्यायो । नेपाली साहित्यमा मन छुने सीमा साहित्य कमै छन्, हाम्रै जीवनमा देखे भोगेको पीडाले छुनु स्वाभाविक थियो । म संलग्न रहेको वृत्ति निजामती सेवामा मैले मानचित्रमा देखेको, नेपालको मानचित्र साँघुरिएको र नेपाली भूमिमाथि गरिएको अतिक्रमणको चित्र साहित्यमा देखें । यो आफूले समाधान गर्ने प्रयास गरेको तर अन्य निकायबाट यथेष्ट सहयोग नपाएको विषय पनि थियो । यसले मलाई द्रवित पनि बनायो । ती मेटिएका मानचित्रहरू फेरि कोर्न, साँघुरिएको मानचित्र फुकाउन ‘पुनर्वास’ ले प्रामाणिकता र भावना एकसाथ राखेकाले मलाई प्रभाव पारेको हो । 

हातमा रहेको ‘नेता बन छोरा नेता बन’ उनको सिर्जना सन्दर्भको निरन्तरताका टुक्राटुक्री काव्याभिव्यक्तिमा भेट्दै छु । उस अर्थमा सर्जक आफ्ना सन्दर्भ र स्वभावलाई छाड्दैन, निरन्तरता दिन्छ र सकेजति परिस्कारको यात्रामा हुन्छ भन्ने देखिन्छ । सर्वज्ञको लेखनयात्रा आफ्ना स्वभावमा खारिँदै परिपक्व बन्दै गएको छ । इलियटले भने झैँ एउटा प्रौढ साहित्यकार इतिहास हुन्छ, धरणिधरले भने झैँ भावमा हुन्छ, लक्ष्मीप्रसादले भने झैँ स्वच्छन्दताको वयेलीमा हुन्छ, लेखनाथले भने झैँ लालित्यमा हुन्छ । भूपिमा जस्तो स्लीलता र गोपाल रिमालमा झैँ साहसमा हुन्छ । ऊ समाज, समय, प्रकृति र यसका मूल्यबाट निरपेक्ष रहन सक्दैन । यी छनकहरू सर्वज्ञको कवितामा पाइएका छन् । 

तीसवटा कविता भएको कवितासंग्रह संस्कृति र समाजबाट शुरू भएर आशा र उत्साहको ‘कर्णधारको नाममा’ टुंगिन्छ । जुवा साहित्य, सीमा साहित्य र व्यंग्य विधानमा चिनिएका सर्वज्ञ अहिले भने त्यसका अलावा डायस्पोरिकचेत साथ आएका छन् । विस्तृत बन्दै जानु, विविध बन्दै जानु र त्यही विशिष्टता भित्र्याउँदै जानु सर्जकको विशेषता हो । 

शीर्षक हेर्दा ‘प्राइमा फेसी’ (पहिलो आकृति) मा व्यंग्य कविताजस्तो लागे पनि यो त्यतिमा सीमित छैन । मातृभूमि छाडेर विदेशलाई कर्मभूमि बनाएकाहरूको दुःख, राष्ट्रप्रेम, पीडाको आभिव्यक्ति र पहिचान खोजीको यौगिक भावना, भौतिक सुख र मनोवैज्ञानिक भावातिरेकलाई कविताले ठाउँ–ठाउँमा उठाएको छ । ‘अम्रिका’, ‘लिलामीमा मुटुु’जस्ता कवितामा यस्तै डायस्पोरिकचेत पाइन्छ ।

तर, सर्वज्ञ जुवा साहित्यको आफ्नो प्रयोगलाई यहाँ पनि भुल्न सक्दैनन् । जुवामार्फत बिग्रेको समाजको प्रस्तुति र त्यसबाट मुक्तिको चेतना दिन्छन् । ‘द्युतक्रीडा’ मा ‘लाग्यो जो जुवामा खेल्न गयो जीवन बर्बाद, सकिन्छ सम्पत्ति सकिएर जान्छ घरबार’ । जुवा एउटा नशा, दुर्व्यसन हो । मानिस लहड र रहरमा यस्तै दुर्व्यसनमा जानीनजानी बर्बादी झेल्दैछ । यो सुन्दर जीवनलाई खराब आदतबाट बर्बाद नगर्न जुवालाई प्रतीक बनाएर ‘द्युतक्रीडा’ मा अभिव्यञ्जन गर्दछन् । साहसले जित्नुपर्ने जीवनका अनेकन पाटामाथि यसले घच्घच्याएको छ । 

सीमा साहित्य (फ्रन्टिएर लिटरेचर) को प्रवृत्तिलाई ‘सीमा’ ले बताएको छ । पुनर्वासको पीडालाई सीमामा साँघुर्‍याइएको छ । सर्वज्ञका कविताहरूमा नैतिक आचरण, चित्त शुद्धि र असल व्यवहारको आग्रह पाइन्छ । ‘बलात्कारीलाई कोर्रा’ जस्ता कविता यसका प्रतिनिधि हुन् । सर्वज्ञको अर्को प्रवृत्ति व्यंग्यात्मकता हो । आफ्ना काव्याभिव्यक्तिलाई व्यंग्यको लेप लगाएर सम्प्रेष्य र ओझपूर्ण बनाउन उनी सिपालु छन् । व्यंग्यमार्फत समाज, पात्र र प्रवृत्तिलाई नङ्ग्याइएको छ । ‘नेता बन छोरा नेता बन’ समकालीन नेपाली राजनीतिमाथि कडा प्रहार हो । ‘गोरु’ झनै कडा प्रहार । 

प्रकृतिमा सौन्दर्य देख्ने र सौन्दर्यलाई शक्ति भन्ने सर्वज्ञको कलावादी सामर्थ्य ‘नेता बन छोरा नेता बन’मा देखिएको छ । कविताभित्र प्रकृतिसापेक्ष मन, मनसापेक्ष प्रकृतिको सुन्दर चित्र कोरिएको छ । मन सौन्दर्यमा रमाएको, रुमल्लिएको र हराएको छ । मानिस विदेशिए पनि मन स्वदेशिन्छ भन्ने देखाइएको छ । इतिहास र संस्कृतिलाई सम्मान गरेर मौलिकताको सम्वर्द्धनमा पनि नेता बन छोरा नेता बन अब्ब्ल छ । मानवीय आदत, इष्र्या र छोपिएका अनेकन संकुचनहरूलाई कविताले सतहमा ल्याएको छ । संघर्षमा विभाजित मान्छे, आत्मिकतामा हराएको मान्छे र अरू धेरै कुराहरूमा लुकेलुकाइको मान्छे चित्कार, चाह र चेतको विम्ब हो ‘नेता बन छोरा नेता बन’ ।

अतीत, वर्तमान र सुदूर सपनाका स–साना चित्रहरू छन्, कवितामा । ‘नेता बन छोरा नेता बन’मा हिमाल छ । अम्रिका (अमेरिका) छ । छाप्रो छ । महल छ । मन छ । मोहकता छ । इर्ष्या छ । आरिस छ । धर्म छ । आचरण छ । प्रेम छ । पीडा छ । आशा र आक्रोश पनि छ । यी सबैले जीवनका अर्थ खोजिरहेका छन् । जीवनको अर्थ र अस्तित्व खोज्न धेरै बिन्दुहरू रेखा बनेर ‘कनेक्टिङ द डट’ बनाइरहेका छन् । आखिर मानिस यही अर्थ र अस्तित्वको अनन्त यात्रामा हिँडिरेहछ, निजत्वको आनन्द र सपनाको सन्तुष्टि खोजिरहेछ । कविता संग्रह यसर्थ विशिष्ट छ ।