images

जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १५ करोड जम्मा, ७ संस्थाको १/१ करोड

काठमाडौं । जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग जम्मा भएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चलेको थियो ।

सरकारले भने एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

एक करोडभन्दा माथि सहायता गर्नेमा मिनबहादुर गुरुङ (१ करोड ११ लाख ११ हजार), बुद्ध एयर (१ करोड), राष्ट्रिय वाणिज्य बैंक (१ करोड), ग्लोबल आईएमई बैंक (१ करोड), सूर्य नेपाल प्रालि (१ करोड), गोर्खा ब्रुअरी (१ करोड), क्यान सेन्ट्रल पेमेन्ट (१ करोड) रहेको छ ।

कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५०/५० लाख रुपैयाँ जम्मा गरेका छन् ।