images

विश्वकप फुटबल छनोट : नेपाल र यमन दशरथ रङ्गशालामा भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताएका छन् ।

उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताएका हुन् ।

गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो । तर दोस्रो हाफ गोलरहित बराबरी खेल्न सफल भएकोले नेपालको आत्मबल बढेको हो ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताए ।

नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । बरियताका हिसाबले नेपाल सबैभन्दा कमजोर टोली हो ।