images

लामाे समयकाे अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको सीआईबीको प्रष्टोक्ति

काठमाडौं–सरकारी जग्गा हिनामिना प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउ परेपछि विभिन्न खाले टिका टिप्पणी हुन थालेका छन् । लगानी सम्मेलनदेखि आर्थिक स्थितीमा प्रभाव पर्ने कुरा पनि चर्चामा आएका छन् ।

सीआईबीले भने लामो समयको अनुसन्धानको आधारमा चौधरीलाई पक्राउ गरिएको प्रष्ट पारेको छ । त्यति मात्र होइन सीआईबीले बाँसबारी छाला तथा जुत्ता कारखानाको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको पनि खुलासा गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको बताएको छ । शुक्रवार सिआईबीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामो समयको अनुसन्धानको आधारमा चौधरी लगायत बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको बताएको हो ।

सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले २०५२ साल साउन ११ गते च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएको प्रमाण रहेको प्रष्ट पारे । उनले च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएपछि तत्कालिन च्याम्पियन फुटवेयर लिमिटेडलाई २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको देखिएको जिकीर गरे । लिलामी शेयरलाई ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले शेयर खरिद गरेको देखिएको छ । चौधरीले २०५४ पौष ४ मा च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता भएपछि तत्कालिन सरकारको अधिनमा रहेको जग्गा व्यक्तिको नाममा गएको पाइएको छ ।

बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको भएपनि त्यस्तो नभएको देखिएको छ । यता च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाखमात्र देखिएको छ । लामो समयसम्म अनुसन्धान गरेर आफु निष्कर्शमा पुगेको भन्दै शंका नगर्न सीआईबीको आग्रह छ ।