images

सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

काठमाडौं–नवलपरासीका एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।

शनिबार साँझ सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ स्थित कुकुरमारा नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

अज्ञात समूहले व्यवसायी विश्वकर्माको पाखुरामा एक राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।

गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक बोहराले जानकारी दिए। गोली प्रहार गर्नेको खोजी जारी रहेको उनको भनाइ छ।

घाइते विश्वकर्माको लु ७८ प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा बर्दघाट–१४ मा फेला परेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।