images

सर्लाहीको मलंगवामा जीप दुर्घटनाः एकको मृत्यु, ११ घाइते

मनोज यादव
सर्लाही–सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं.११ गम्हरीयामा सोमबार राती भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका वडा नं.११ कर्मैयाका ४५ वर्षीय बिनोद घिमिरे रहेका छन् ।

उनको एलेक्स न्युरो अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार राती पौने ८ बजे नवलपुर–मलंगवा सडकमा चमेली माईको मन्दिर नजिक सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको नापी कार्यालयका कर्मचारीहरु सवार बि.आर ०६ पि.डी ९६४८ नम्बरको भारती सफारी गाडी नवलपुरतर्फ नै जाँदै गरेको ज २ त १०६७ नम्वरको उखु बोकेको ट्याक्टरमा पछाडीबाट ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारु स्पेस समाचारलाई जानकारी दिए ।

त्यस्तै दुर्घटनामा परि नापी कार्यलय मलंगवाका कार्यालय प्रमुख सहित ११ जना घाईते भएका छन् । घाईते हुनेहरुमा काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय नापी कार्यालयका प्रमुख संजय मानन्धर, मलंगवा न.पा.३ का ५० वर्षीय बैधनाथ पटेल,महोत्तरीका २५ वर्षीय अजय यादव, महोत्तरीकै ३० वर्षीय बैजु यादव ,मलंगवा न।पा(३ का ३५ वर्षीय रामलाल साह,कौडेना गाउँपालिका वडा न(२ का २४ वर्षीय संजित मण्डल, धनुषाको सहिदनगर नगरपालिका वडा न.७ का २९ वर्षीय दिपेन्द्र यादव रहेका छन् ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय शाहिद अनवर ,मलंगवा न.पा.७ मुसैलीका ३४ वर्षीत रामबाबु राय र महोत्तरीको एकडारा गाउँपालिका–२ का २० वर्षीय रिटेन यादव समेत घाइते भएका छन् । उनीहरु सबै नापी कार्यालय मलंगवाका कर्मचारीहरु रहेका छन् ।

दुर्घटनामा गम्भीर घाईतेहरु मध्ये ५ जनाको कलैया ४ जनाको बिरगंज र एकजनाको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । नापी कार्यालयका प्रमुख मानन्धरसहित केही घाइतेहरुको अवस्था चिन्ताजनक रहेको प्रहरी प्रवक्ता थारुले जानकारी दिएको छ।

ट्याक्टरका चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।एकैसाथ ठुलो संख्यामा कर्मचारीहरु दुर्घटनामा परेर घाइते हुँदा नापी कार्यालय मलंगवाको काम प्रभावित भएको छ।