images

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त तीन पदाधिकारी नियुक्तिमा चलखेल, स्वास्थ्यमन्त्री बस्नेतको स्वार्थ हावी

काठमाडाै-राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान राजनीतिको चपेटामा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले आफ्नो अनावश्यक स्वार्थ पुर्ति गर्न खोज्दा नै राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान अलपत्र बन्दै गएको छ । राजनीतिक रुपमा आफु निकट व्यक्तिलाई प्रतिष्ठानको पदाधिकारीमा ल्याउन स्वास्थ्यमन्त्री बस्नेत ५ महिनादेखी दौडधुपमा लागि परेका छन । तर योग्यता पुगेको ब्यक्ति नभेट्दा उनले पदाधिकारी नियुक्तिको प्रकृया नै अगाडि बढाएका छैनन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्ति नहुँदा यसले दिने सेवा प्रवाहमै प्रत्यक्ष असर पुगेको छ । स्वास्थ्य मन्त्रीको स्वार्थका कारण अर्को वर्षबाट एमबिबिएस अध्यापन गराउने योजना पनि असफल हुने हो कि भन्ने आशंका बढ्दै गएको छ । मन्त्री बस्नेतले प्रतिष्ठानको पदाधिकारीमा राजनीतिक रुपले समेत आँफु निकटकै व्यक्ति चाहिएको छ । यसको कारण भनेको अर्बौको ठेक्का नै हो ।

प्रतिस्ठानको लागि ७ अर्बको गुरुयोजना बनिसकेको छ । जसमध्ये ३ अर्बको टेण्डर आहवान गर्ने प्रकृया अन्तिम चरणमा छ । रिक्त रहेका ३ जना पदाधिकारीको नियुक्ति भएपछि ३ अर्बको ठेक्का प्रकृया अगाडि बढ्नेछ । त्यही ३ अर्बको ठेक्कामा मन्त्रिको स्वार्थ जोडीएका कारण नियुक्ती प्रकृया नै अगाडि बढेको छैन ।

गत असोजमा ३ जना पदाधिकारीले राजिनामा दिएपछि ती पद अहिलेसम्म रिक्त छन । प्रतिष्ठानका रेक्टार डा वसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा र डेप्यूटी रजिष्ट्रार झंकार लामिछानेले राजीनामा दिएका हुन् । राष्ट्रिय सतर्कता केन्द्रले ती पदाधिकारीहरुको नियुक्ति नै कानुन मिचेर गरिएको भन्दै कारबाहीका लागि अख्तियारमा फाइल पठाएपछि उनीहरुले कारबाही छल्न पदबाट राजीनामा दिएका हुन् ।

सतर्कताका एसपी गणेशकुमार श्रेष्ठ, डिएसपी बुद्धिराम खनाल र लेखापाल नवराज सुवेदी सम्मिलित छानबिन समितिले उनीहरुको नियुक्तिका विषयमा गरेको छानबिनका क्रममा उनीहरुलाई प्रतिष्ठान ऐन, नियमावली विपरित नियुक्त गरिएको तथ्य फेला पारेका थिए । त्यसपछि सतर्कताले उनीहरुसहित नियुक्तिका लागि सिफारिस गर्नेलाई पनि कानुनअनुसार कारबाही गर्ने सुझाव सहितको फाइल अख्तियारमा पठाएको थियो ।

अख्तियारमा पठाएको फाइलमा ती पदाधिकारीले हालसम्म खाइपाई आएको तलबभत्ता र सुविधा असुल गर्न पनि भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्ने देखेपछि तीन जना पदाधिकारीले पदबाट राजीनामा दिएका थिए । यहि रिक्ततामा खेलेर स्वास्थ्य मन्त्री मोहन बस्नेत अहिले आफ्नो स्वार्थको रोटि सेक्न लागि परेका हुन ।।