images

ई–भिसा स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

काठमाडौं– अध्यागमन विभागबाट हुने सबै सेवाहरु शुक्रवारदेखि ई.भिसा तथा अनलाइन भुक्तानीको प्रारम्भ भएको छ ।

शुक्रवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई.भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई.भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् । अध्यागमन विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ ।

अध्यागमन विभाग र अन्तर्गतका कार्यालयहरुमा पूर्णरुपमा डिजिट र स्वचालित रुपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् । विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ । विभागले शुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोला बनेका थिए भने ई.भिसाको सुरुवात एक विदेशी नागरिकलाई ई.भिसा दिएर शुरुवात गरिएको छ ।

उक्त सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अध्यागमन विभागबाट लिने सेवा शुल्क, भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैंकहरुका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक कनेक्ट आइपीएस, इसेवा र खल्तीको खाताबाट अनलाइनमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था पनि लागू भएको छ ।