images

झुटो विवरणका आधारमा नागरिकता दिलाउने वीरगन्जका मेयरसँग गृहमन्त्रालयले लियो सवा दुई घण्टा बयान

काठमाडौं–वीरगन्जका मेयर राजेशमान सिंहसँग गृह मन्त्रालयको टोलीले शनिबार सवा दुई घण्टाको बयान लिएको छ । फर्जी विवरणको आधारमा नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध जाहेरी परेपछि गृह मन्त्रालयको टोलीले बयान लिएको हो ।

झुटो विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाएको भन्दै नागरिकता विवाद प्रकरणमा गृह मन्त्रालयको टोलीले मेयर सिंहसँग जिल्ला प्रशासन कार्यालय पर्सामा बयान लिएको थियो । जिल्ला प्रशासन स्रोतका अनुसार मेयर सिंहसँग बिहान ८ बजेदेखि सुरु भएको बयान सवा दश बजेसम्म लिइएको थियो । गृह मन्त्रालयको टोलीले मेयर सिंहसँग मौखिक तथा सोधपुछ कागज गराएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ ।

सो क्रममा गृह मन्त्रालयबाट गठित २ सदस्यीय छानबिन टोलीले सिंहविरुद्ध परेको जाहेरीसँग सम्बन्धित कागजातका आधारमा सोधपुछ गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जनाए । गृह मन्त्रालयको टोलीले लिएको बयानका क्रममा मेयर सिंहले रुविना आफ्नो छोरी भएको स्वीकारेको स्रोतले जनाएको छ । मेयर सिंहसँग बयान लिइसकेपछि गृह मन्त्रालयको टोलीले सम्बन्धित अन्य व्यक्तिसँग सोधपुछ गरिरहेको जिल्ला प्रशासन कार्यालय स्रोतको भनाइ छ ।

यसअघि नागरिकता बनाउन सिफारिस गरिएका वडा कार्यालयसँग पनि गृह मन्त्रालयको टोलीले बेग्लै बयान लिइसकेको छ । वीरगन्ज महानगरका मेयर सिंहले झुटो विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाएको भन्दै गृह मन्त्रालयमा गएको २६ पुसमा उजुरी परेको थियो । उजुरी परेको झण्डै एक महिना पछाडि गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको नेतृत्वमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहने गरी दुई सदस्यीय छानबिन टोली गठन गरेर वीरगन्ज खटाएको छ ।