images

प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा–नौबिसे सुरुङ मार्गको ब्रेक थ्रू उद्घाटन

काठमाडौं– नागढुंगा–नौबिसे सुरुङ मार्गको ब्रेक थ्रू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने सुरुङ मार्ग ब्रेक थ्रुको उद्घाटन गरेका हुन् । योसँगै काठमाडौं उपत्यका जोड्ने मुख्य सडकमा नेपालको यातायात क्षेत्रले पहिलो सुरुङ मार्ग पाएको छ ।

जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ बने पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङ मार्ग छैनन् । २ दशमलव ६ किमी लम्बाइको नागढुंगा सुरुङ मार्ग एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भएको हो ।

यो सुरुङ मार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडिबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङ मार्गको शिलान्यास गरेका थिए । करिब ५३ महिनापछि भएको सुरुङ ब्रेक थ्रूको उद्घाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ ।

साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ । अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई पनि सोफामा बस्ने व्यवस्था मिलाइएको छ । आपत्कालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो ।