images

रास्वपाको मिसन ८४ मा धक्का, इलाममा जमानत जफत !

काठमाडौं–इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका १६ जना उम्मेदवारको जमानत जफत भएको छ । मङ्गलवार सम्पन्न अन्तिम मत परिणामअनुसार कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारहरूको जमानत जफत भएको हो ।

जमानत जफतपछि पार्टीलाई आगामी दिनमा सचेत गराएको रास्वपाको तर्क छ । तर, केहीले भने नयाँ राजनीतिक दलहरूले जनतामा नयाँ आशा देखाउन नसकेपछि पुरानै दल रोज्न बाध्य भएको टिप्पणी गरिरहेका छन् ।

संसद्मा हाल २१ सिटका साथ निर्णायक तहमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी इलाम–२ बाट पनि एक सिट थप्ने दाबीसहित उपनिर्वाचनमा होमिएको थियो । निर्वाचन प्रचारप्रसारको माहोल हेर्ने हो भने रास्वपा जति तामझाम र धूमधाम कसैले गरेका थिएनन् । सो पार्टीले पार्टीका शीर्ष नेताहरूलाई इलाममा केन्द्रित गरेको थियो । पार्टीले माओवादी पृष्ठभूमिका स्थानीय युवा मिलन लिम्बुलाई उम्मेदवार बनायो ।

निर्वाचनको प्रचारप्रसारका क्रममा नेपाल सरकारका मन्त्रीहरू झन्डा हल्लाउँदै इलाममा पुगे । आफ्ना उम्मेदवारलाई धेरैभन्दा धेरै मतले विजयी गराउन आग्रह गरे । सँगसँगै उनीहरू गर्वका साथ रास्वपा उम्मेदवारले निर्वाचनमा बाजी मार्ने घोषणा गरिरहेका थिए । अहिलेसम्म सो क्षेत्रमा जसले निर्वाचन जिते पनि जनताको स्तरमा खासै सुधार नभएको भन्दै आलोचनाका भरमा निर्वाचन जित्ने रास्वपाको सपनामा पूर्णविराम लागेको छ । निर्वाचनमा पराजय मात्र भोगेन पार्टीको जमानत समेत जफत भएको छ । तर, रास्वपाका नेताहरू भने इलाम–२ ले थप उत्साहित गरेको दाबी गर्छन् ।

स्पेस समाचारसँग कुरा गर्दै रास्वपा सांसद शिशिर खनालले भने– ‘रास्वपाले अघिल्लो चुनावभन्दा चार गुणा मत बढाएको छ, तर अपेक्षाकृत मत आएन । ग्रामीण भूभागमा भन्दा बजारमा सापेक्षिक राम्रो मत आउनुले रास्वपाको अपिल बजारमा सीमित रहेको देखिन्छ । थपिएको नयाँ २००० मतदाताले स्थापित पुराना दललाई नपत्याएको देखिन्छ । यसले आगामी दिनमा वैकल्पिक र नयाँ दललाई फाइदा नै पुग्ने छ ।’

यो उपनिर्वाचनमा रास्वपाले अघिल्लो निर्वाचनभन्दा केही मत भने बढाएको छ । जुन मत सहरी क्षेत्रको मात्र हो । ग्रामीण भूभागमा रास्वपाको उपस्थिति कमजोर नै देखिएको छ । २०७९ को निर्वाचनमा रास्वपाले सो क्षेत्रमा १ हजार ३ सय ८० मत मात्र ल्याएको थियो । अहिले उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरेका छन् । तर, थपिएको नयाँ २ हजार मतदाताले स्थापित पुराना दललाई नपत्याएको भन्दै रास्वपामा उत्साह थपिएको छ ।

रास्वपामा इलाम उपनिर्वाचनले बाह्य रूपमा जति आशाको सञ्चार गरे पनि पार्टीभित्र भने यस विषयमा मत विभाजित छ । केहीले उम्मेदवार चयनमा समेत पार्टीले गलत निर्णय लिएको भन्दै आलोचना गरिरहेका छन् । त्यसमा पनि पार्टी सभापति रवि लामिछानेको सहकारी काण्डले पार्टीको भविष्य नै अन्योलमा परेको छ । लामिछानेले पटक पटक मिसन–८४ को एकोहोरो रटान लगाउने गरिरहेको अवस्थामा त्यसले इलाम–२ मा फरक परिदृश्य देखाएको छ । लामिछानेको मिसन ८४ सफल नहुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

स्थापना भएको ६ महिनामै रास्वपा मुलुकको राजनीतिमा निर्णायक शक्तिका रूपमा उदाएको थियो । पुराना दलहरूप्रति प्रश्न खडा गरेरै भए पनि पार्टीले उल्लेख्य जनमत प्राप्त गरेको थियो । जनमतको सही सदुपयोग नगरेपछि त्यसले अहिले पार्टीको भविष्य नै अन्योलमा पुगेको विश्लेषण भइरहेको छ । पार्टीका शीर्ष नेताहरू एकपछि अर्को प्रकरणमा मुछिन थालेपछि त्यसले जनतामा आशाभन्दा पनि निराशा पैदा गरेको छ । अर्को कुरा सत्ताकै लागि मरिहत्ते गर्ने, पुराना दलहरूसँगै काँध थाप्ने रास्वपा नेतृत्वको प्रवृत्तिले आगामी दिनमा उसको भविष्य के हुने अन्योलको स्थिति देखाएको छ ।