images

राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं– राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । यस अघि आइतबार १ः १५ को लागि तोकिएको राष्ट्रिय सभाको बैठक ३ः १५ सम्मका लागि स्थगित गरिएको थियो । उक्त तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि बैठक सोमबार १ बजेर १५ मिनेटमा बस्ने गरि सूचना टाँस गरि स्थगित गरिएको हो ।

राष्ट्रिय सभा बैठकमा आज अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने र अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने , प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १ गते राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तोकिएको थियो ।

त्यसै गरी अध्यक्षले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेस गर्ने , सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन), २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको भए पनि दलहरुबीच सहकारी प्रकरणमा संसदीय छानविन समितिका लागि कार्यादेश तयार नहुँदा बैठक स्थगित भएको हो ।