images

बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमति बन्छः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघि सम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन् । उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज(आइतबार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए ।

उनले भने, ‘मैले केही दिनदेखि लगातार राजनीतिक दलहरूसँग, प्रतिपक्ष दलका नेताहरूसँग छलफल आयोजना गरिराखेको छु र यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ । हामी सहमति र समझदारीको धेरै नजिक पुगेको पनि बेला–बेलामा हामीले महसुस गरेका छौँ । आज बिहान मात्रै पनि मैले नेपाली काँग्रेसका सभापति लगायतका नेताहरूसँग बुढानीलकण्ठमा नै पुगेर सभापतिजीको घरमै पुगेर पनि सहमतिको निम्ति प्रयास गरेको छु । र मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । किनकि हामी त्यसको नजिकै छौँ । अहिले भर्खरै रास्वपाको तर्फबाट स्वर्णिम वाग्लेले छानबिन समिति बनाउन हामीलाई आपत्ति छैन भन्नुभएको छ र संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भई नै सकेको छ । अब त्यसको टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गर्दा मलाई लाग्छ आज बेलुकासम्म वा भोली बिहानसम्म समझदारी हुन सक्छ । र प्रधानमन्त्रीको हैसियतले मैले त्यो समझदारी कायम होस् भन्नको निम्ति निरन्तर प्रयास गरेको म जानकारी गराउन चाहन्छु ।’

उनले संसदीय समिति गठनमा सहमति भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतिको नजिकै पुगेको जानकारी दिए ।