images

सर्लाहीमा सरकारी गाडीको दुरुपयोग, अधिकांश जनप्रतिनिधि र कर्मचारीहरूको घरायसी प्रयोगमा

सर्लाही–प्रभावकारी रुपमा छिटो छरितो सेवा दिने उदेश्यकासाथ सरकारले जनताले तिरेकै करबाट कर्मचारीलाई सेवा सुबिधा उपलब्ध गराउने गरेको छ । यसरी उपलब्ध गराइएका सुबिधाबाट जनतानै लाभाम्वित हुनुपर्ने हो । तर सर्लाही जिल्लामा भने यसरी कर्मचारीलाई उपलब्ध गराइएको सरकारी गाडीको दुरुपयोग हुने गरेको पाइएको छ । यहाँका कर्मचारीले घरयासी काममा समेत सरकारी गाडिकै प्रयोग गर्ने गरेको भेटिएको हो ।

सर्लाही जिल्लामा २० वटा स्थानीय तह छन् । स्थानीय तहका जनप्रतिनीधि तथा कर्मचारीबाट प्रदान गरिने सेवा सुविधा छिटो छरितो जनतालाई उपलब्ध गराइयोस् भनि गाडी उपलब्ध गराइएको हुन्छ । तर कर्मचारी भन्दा पनि अधिकासं जनप्रतिनीधिले सरकारी नम्बर प्लेटका गाडी घरायसी प्रयोजनमा प्रयोग गर्ने गरेको पाइएको छ । सर्लाहीमा मात्र नभइ मधेस प्रदेशका अधिकासं जिल्लामा सरकारी सुविधाको रूपमा पाएको गाडी घरदेखी, खेतवारीको काममा समेत प्रयोग हुने गरेको सरोकारवालाहरुको आरोप छ ।

जिल्लाका अधिकांश पालिका जनप्रतिनिधिहरू लगायत कर्मचारीका आफन्तको घरायसीमा प्रयोग हुने, बजार घुम्ने, किनमेल गर्न, जन्ती जानका लागि प्रयोग गर्ने गरेको मानवअधिकार रक्षक सञ्जाल सर्लाहीका संयोजक मुकेश मिश्रले जानकारी दिए । गाडीमा प्रयोग हुने इन्धन लगायतका सुविधा स्थानीय तहबाट बेहोर्ने लगाउने तर काम भने घरको गर्ने गरेको भन्दै स्थानीयहरूद्वारा विरोध भइरहेको भए पनि प्रशासन मौन रहेको उनले बताए ।

सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरूलाई तत्कालै कार्यवाहीको दायरामा ल्याउनु पर्ने स्थानीय बुद्धिजीवी सुन्दर श्याम यादवले माग गरे ।

सरकारी काममा प्रयोग गर्न सरकारी गाडी खरिद गरिएकोले व्यक्तिगत प्रयोजन एवं सार्वजनिक बिदाका दिन यसको प्रयोग गर्न नपाउने कानुनी प्रावधान विपरीत रहेको बताउँदै सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले यदि कुनै कारणले आफ्नो कार्य क्षेत्रभन्दा बाहिर, सार्वजनिक बिदा बाहेकका दिनमा प्रयोग गर्न परेमा अधिकार प्राप्त अधिकारीसँग अनुमति लिनुपर्ने बताए । उनले यो नियम तीनै तहका सरकार, जनप्रतिनिधि र कर्मचारीको हकमा अनिवार्य लागू हुने भएकोले कसैले यो कानुनको उल्लङ्घन गरेको खण्डमा नेपालको प्रचलित कानुन अनुसार कारबाही हुने व्यवस्था रहेको बताए ।