images

रविलाई कानुनी कठघरामा उभ्याउने गगन थापाको सपना सफल होला ?

काठमाडौं–जोडतोडका साथ संसदीय छानबिन समितिको माग गरेको नेपाली कांग्रेस अहिले निकै समस्यामा छ । सत्ताबाट बाहिरिनुपरेको आक्रोश पोख्न कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफरसमेत ग¥यो । सबै अस्त्र फेल खाएपछि उनै लामिछानेलाई धारे हात लगाएर सत्ता गिराउन कांग्रेस लागि परेको छ । पछिल्लो समय त कांग्रेस र सत्तारुढ दलभन्दा पनि रवि र गगन एक अर्कालाई गलाउने रणनीतिमा उत्रिएका छन् । जसले सहकारीको मुद्दा थप पेचिलो बनेको छ ।

सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धमा संसद्मा आक्रामक रूपमा प्रस्तुत हुन्छ भने ती सांसद गगन थापा हुन् । लामिछानेमाथि सुरुवाती दिनदेखि नै प्रहार गरिरहेका थापा पछिल्लो समय झन् आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । उनी जसरी पनि रविलाई लगाएरै छाड्ने रणनीतिमा छन् । त्यसकैको उपज हो कार्यदलमा भएको भनिएको सहमति पनि एकाएक भाँडिनु । संसदीय छानबिन समितिको कार्यादेशमा कार्यदलले रविको नाम नराखी सहकारी र कम्पनीको नाम राख्न समझदारी बने पनि पछि गगन लगायतका नेताहरू बालुवाटार पुग्दा फेरि कांग्रेस पुरानै अडानमा फर्किएको थियो । सांसदबाटै रविले गगनमाथि विभिन्न आरोप लगाएपछि उनी झन् बिच्किएका छन् ।

उनले लामिछाने मुछिएका सहकारीका नाम मात्र होइन, प्रमाणहरू समेत रहेको दाबी गर्दै आएका छन् । कतिसम्म भने यही विषयलाई लिएर कांग्रेस सडक आन्दोलनमा होमिएको छ । अर्कोतर्फ सहकारी प्रकरणमा गगनले बढी नै अग्रसरता देखाएका छन् । सार्वजनिक अभिव्यक्तिदेखि पत्रकार सम्मेलन नै गरेर गगनले रविलाई चुनौती दिइरहेका छन् । पछिल्ला गतिविधि हेर्दा यो प्रकरणमा गगन र रवि नै आमने–समाने भएको देखिन्छ । दुई नेताले एक अर्कालाई चुनौती दिँदै राजनीति नै छाड्ने अभिव्यक्ति समेत दिन भ्याए । यसलाई विश्लेषहरुले भने हलुका टिप्पणीका रूपमा बुझेका छन् ।

लामिछाने पनि आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार हुनभन्दा तिमिहरूको पनि फाइल खोल्छु भन्दै धम्काइरहेका छन् । सहकारी प्रकरणमा छानबिन समिति बनेमा र लामिछाने पदमै कायम रहेमा कांग्रेस नेताहरू जोडिएका फाइल खोल्ने उनको रणनीति छ । जसका कारण कांग्रेस पनि केही हच्किएको हो भन्ने आभास भएको छ । त्यसैले सरकार र रवि माथि दबाब बढाउन कांग्रेसले सडक सङ्घर्ष पनि सुरु गरेको छ ।