images

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दायर गरेको रिटको बुधवार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यसै गरी उनले लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्नसमेत रिटमा मार्फत माग गरेका थिए ।

रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दीनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको थियो। बुधवार न्यायाधीश पोखरेलको इजलासमा यो रिट सुनुवाइका लागि १० औँ नम्बरमा पेसी चढेको थियो ।

रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको थियो ।