images

माधव जी अर्को गठबन्धनमा जाने सम्भावना छैनः प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल अर्को पार्टीमा जान सक्ने सम्भावना नभएको विश्वास व्यक्त गरेका छन् । बिहीबार बिहान अध्यक्ष नेपाल विपक्षी दलहरूको बैठकमा सहभागी भएको बारे सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, ‘माधवजीको त्यस्तो हुने सम्भावना छैन ।’

बुधवार अध्यक्ष माधव नेपाल विपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बोलाएको बैठकमा भाग लिएर फर्किएका थिए । उनीहरुबीच प्रदेश सरकार गठनबारे कुराकानी भएको स्रोतको दाबी रहेको छ ।

माधव नेपाल असन्तुष्ट रहेका कारण गठबन्धन छाड्न सक्ने चर्चाका बीच बिहीबार बिहान प्रचण्डलाई भेट्न झलनाथ खनाल बालुवाटार पुगेका थिए । प्रचण्डले बिहीबार बिहान मात्रै माधव नेपालसँग यस बारे कुराकानी भएको उल्लेख गर्दै नेपाल गठबन्धन बाहिर नजाने प्रचण्डलाई विश्वास दिलाएका थिए ।

नेता खनालसँगको भेटपछि प्रचण्डले भने, ‘उहाँ अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, आज बिहान मात्र मेरो कुरा हुँदा माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भनेर क्लियर गर्नुभएको छ ।’