images

चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

काठमाडौं– नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माले एक्सन भूमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शीर्ष भूमिका रहेको छ । फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन् भने देव मगर र अनुप गडाल निर्माता रहेका छन् । फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाङ्कन र बन्द्रे प्रसादको सम्पादन छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले सुटिङको भिडियो हेर्दा अहिले पनि हात काँप्ने बताए । उनले बाइक चलाएर मात्रै एक्सन हुन्छ भन्नेजस्ता शीर्षकमा समाचार सम्प्रेषण भइरहेकोप्रति आपत्ति जनाउँदै उहाँले चलचित्र हेरिसकेपछि मन लागेको शीर्षक राख्न तर एउटा मात्रै क्लिप हेरेर शीर्षक नराखिदिन आग्रह गरे ।

उनले भने ‘अहिले पनि फिल्मको सुटिङ कसरी गर्न सकेँ, कसरी गरेँ भनेर हात काँप्छ । अब मलाई गरायो भने म सक्दिनँ होला । त्यो मेहनत अहिले सम्झिँदा डर लाग्छ । अब कामले नै देखाउँछु भनेर अघि बढेको छ । बाइक चलाएर एक्सन हुन्छ भन्ने शीर्षकमा समाचार लेख्नुभएको थियो, पूरा फिल्म हरेपछि थाहा हुन्छ, केके छ भनेर त्यस्तो शीर्षक नलेखिदिनुहोला ।’

पूजाले दान्भीमा पहिलो पटक एक्सन भूमिका निर्वाह गर्नुभएको हो । चलचित्र आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदै छ ।