images

जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसद् भित्र छलफल गरौँः सांसद सापकोटा

काठमाडौं– नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरूको सम्बन्धमा संसद् भित्र छलफल गर्नुपर्ने बताए ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरूका सम्बन्धमा संसदमा छलफल हुनुपर्ने बताएका हुन् । उनले यसको सम्बन्धमा संसद्को भूमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा संसद्ले पनि आफ्नो भूमिकालाई प्रभावकारी ढङ्गले सम्पादन गर्नुपर्ने बताए ।

उनले भने – ‘सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु कि ०७८ साल असार १ गते जुन बाढी, पहिरो आयो सबभन्दा पहिला त त्यो करिडोर क्षेत्रका इन्द्रावती र मेलम्ची क्षेत्रका बासिन्दाहरूले पाउनुपर्ने क्षतिपूर्ति र राहत लगायतका विषयहरूका बारेमा कुनै सम्बोधन भएको छैन । यसका बारेमा सम्बोधन होस् । त्यो सँगसँगै आउँदै गरेको वर्षाताका जोखिमहरू र त्यसका पूर्व तयारीका बारेमा सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण होस् । सरकारले यसबारेमा सोचोस् । हामीले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर, प्रभावहरूका बारेमा यो संसद्को आफ्नो भूमिका के रहने ? र त्यो भूमिकाका बारेमा पनि संसदभित्र गहनतापूर्वक छलफल होस् र एउटा निष्कर्षका साथ हामी अगाडी जाऔँ । त्यो भूमिकालाई प्रभावकारी ढङ्गले सम्पादन गरौँ भनेर अनुरोध गर्न चाहन्छु ।’

सांसद सापकोटाले ०७८ साल असार १ गते मेलम्चीमा आएको लेदोसहितको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत आजसम्म नपाएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आउँदै गरेको वर्षाताका जोखिमहरू र त्यसका पूर्व तयारीका सम्बन्धमा पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।