images

उत्पादनमुखी भएर बजेट ल्याएको अर्थमन्त्री पुनको दाबी

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएर ल्याएको दाबी गरेका छन् । मङ्गलवार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो दाबी गरेका हुन् ।

उनले सरकारले बजेट पछिल्ला आर्थिक सङ्कुचनले स्रोतमा पारेको सङ्कुचनलाई ध्यान दिएर बिना महत्त्वाकाङ्क्षी,जनताका अहिलेका आवश्यकता,निजी क्षेत्रको मनोबल उकास्ने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खोज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट ल्याएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको स्पष्ट पारे । उनले बजेट ठुला र प्रभावशाली नेता,मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोपलाई चिर्दै अहिलेको बजेटले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्ने गरी व्यवस्था गरिएको उल्लेख गरे ।

अर्थमन्त्री पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६ औँ योजनाले परिलक्षित गरेका उद्देश्यहरू समेत क्रमशः पूरा हुने विश्वास रहेको बताए । उनले बैङ्कहरूमा तरलताको रूपमा ५ खर्ब बढी रकम बैङ्कहरूमा रहेको बताए । अर्थमन्त्री पुनले बजेट र करका नीतिहरूले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी प्रवर्द्धन गर्ने कोसिस गरेको जानकारी दिए । उनले यसले बैङ्कमा रहेको तरलतालाई बजारमा जान सक्ने वातावरण हुने उल्लेख गरे । सरकारले ल्याएको बजेट अनुसारको मौद्रिक नीति आउने भएकाले मुलुकको कुल आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार,सार्वजनिक वित्त अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्त्वाकाङ्क्षी नभई सन्तुलित रहेको दाबी गरे ।

उनले भने,‘सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६ औँ योजनाले परिलक्षित गरेका उद्देश्यहरू समेत क्रमशः पुरा हुने विश्वास रहेको छ । अहिले पनि बैङ्कहरूमा तरलताको रूपमा ५ खर्ब बढी रकम बैङ्कहरूमा रहेको छ । बजेट र करका नीतिहरूले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी प्रवर्द्धन गर्ने कोसिस गरेको छ । यसले बैङ्कमा रहेको तरलतालाई बजारमा जान सक्ने वातावरण हुने छ । वित्तीय योजनाको रूपमा बजेट प्रस्तुत गरेका छौं । बजेट अनुसारको मौद्रिक नीति आउने छ । मुलुकको कुल आर्थिक वर्षको कुल ग्राहस्र्थ उत्पादनको आकार,सार्वजनिक वित्त अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्त्वाकाङ्क्षी नभई सन्तुलित रहेको छ । आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिचालन हुने गरी कार्य योजनासहित स्रोत व्यवस्थापन गरिनेछ । मध्यावधि खर्च संरचनामा १९ खर्बभन्दा माथि हुने छ भनिएको थियो । तर अहिले १८ खर्ब ६० अर्ब ३० करोड भन्दा करिब १ खर्ब कम आएको छ । त्यसले पनि महत्त्वाकाङ्क्षी छैन । बस्तुगत छ । पछिल्ला आर्थिक सङ्कुचनले स्रोतमा पारेको सङ्कुचनलाई ध्यान दिएर विना महत्वकांक्षी,जनताका अहिलेका आवश्यकता,निजी क्षेत्रको मनोबल उकास्ने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खोज्न प्रेरित गर्ने ढङ्गले बस्तुवादी बजेट प्रस्तुत गरेको छु । आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको विश्वास दिलाउन चाहन्छु । बजेट ठुला र प्रभावशाली नेताहरूको क्षेत्रमा मात्रै गयो । मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोप र टिप्पणी हुने गर्छ । अहिले त्यस्तो नभएर अहिले १६५ निर्वाचन क्षेत्रमा बजेट पुग्ने गरी व्यवस्था गरिएको छ ।’

उनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिचालन हुने गरी कार्य योजनासहित स्रोत व्यवस्थापन गरिने बताए । उनले मध्यावधि खर्च संरचनाले उल्लेख गरे भन्दा करिब १ खर्ब कम आकारको बजेट आएको बताए ।