images

भारतीय प्रधानमन्त्री मोदीद्वारा राजीनामा

एजेन्सी–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार तेस्रो कार्यकालको शपथ लिने भएका छन् ।

योसँगै भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुपछि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने मोदी अर्को नेता बन्नेछन् । मोदीले बुधवार नै राष्ट्रपति भवन पुगेर राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा पनि बुझाइसकेका छन् । तथापि सत्तारुढ भाजपाले यस पटकको चुनावमा ठुलो क्षति बेहोरेको छ ।

दुई कार्यकाल एकल बहुमतको सरकार बनाएका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि भने साना दलको आड लिनुपर्ने भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भाजपाले २४० सिट मात्रै जितेको छ । उसले गएको चुनावको तुलनामा ६१ सिट गुमाएको हो । अघिल्लो लोकसभा चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेको थियो ।

यसपालि बीजेपीले आफ्नो शक्ति अझै विस्तार गर्ने र ४ सय भन्दा बढी सिट ल्याउने दाबी गरेको थियो । २४० सिट जितेको भाजपालाई सरकार बनाउन २ सय ७२ सिट आवश्यक पर्छ । भाजपा एक्लैले सरकार बनाउन सम्भव नभए पनि उसको नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स एनडीएले बहुमत सिट जितेको छ ।

भाजपा नेतृत्वको गठबन्धन एनडीएले कुल २९३ सिट जितेको छ । मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमार र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूको साथ लिएर नयाँ सरकार बनाउने तयारी गरेका छन् । नितिश कुमारको दल जेडियूले १२ सिट जितेको छ भने नायडूको दल तेलगु देशम पार्टीले १६ सिट जितेको छ ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले ९९ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सिट बढाएको छ । समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु सामले १६ र जनता दल एकीकृतले १२ सिट जितेको छ ।