images

ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान सुरु

काठमाडौं–ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ ।

बिहीबार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियानको शुभारम्भ गरेको हो । शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख चिरिबाबु महर्जनले घरघरमा नगर प्रहरी अभियानका बहु आयामिक फाइदा रहेको बताए । उनले यस अभियानले जनप्रतिनिधिहरू चुनावको निमित्त भोट माग्न मात्रै घरमा पुग्ने र त्यसपछि हराउने भन्ने जनताको गुनासो सम्बोधन हुने बताए । उनले नागरिकहरूले दुःखका कुराहरू नगर प्रहरीमार्फत जनप्रतिनिधिहरूलाई सुनाउन सक्ने बताए । नगर प्रहरीको उदाहरणीय कदमले नगरवासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने उनको विश्वास छ । यस योजनाअन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिनेछन् ।

उनले भने, ‘घरघरमा नगर प्रहरी भन्नासाथ यसका बहु आयामिक फाइदा छन् । धेरै आयामहरू छन् । त्यसमध्येमा पनि हामी जनप्रतिनिधिहरू चुनावको निमित्त घरमाभोट माग्न आउने त्यसपछि हराउने भन्ने आरोप पनि हराउनेछ । भेटेर सुख दुःखका कुराहरू भन्न भन्न नपाउँदै गर्दा नगर प्रहरीसँग समन्वय गरेर ती कुराहरू उहाँहरूले व्यक्त गर्न सक्नुहुनेछ । यो विषयमा प्रत्येक हप्ता म ब्रिफिङ लिनेछु । ’

प्रमुख महर्जनले आफूले हरेक हप्ताको एक दिन नागरिकहरूको गुनासा र सुझावहरूबारेमा ब्रिफिङ लिने बताए ।