images

सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् । सहकारी केन्द्र नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै सो प्राधिकरण बनाएर अघि बढ्ने बताएका हुन ।

उनले सो प्राधिकरण गठन प्रक्रिया केही समय भित्रै सुरु हुने जानकारी समेत दिए । सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यस सम्बन्धी बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर सो प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्री दाहालको भनाई थियो । त्यस अवसरमा उनले आफ्नै पार्टी भित्र पनि सहकारी समस्या देखिएको आफू पनि त्यसको पीडामा परेको गुनासो पनि गरे ।

सहकारीलाई त्यसको मूलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पुँजीवादी बैङ्कजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाइसकेपछि विकृति त देखा पर्नु अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको पीडाबाट नागरिकलाई मुक्त गराउन सरकारले प्रयास गरिरहेको बताए ।

उनले भने ‘सम्बन्धित मन्त्रालय, मन्त्री, मन्त्रालयका सचिवसमेतलाई राखेर अब यसलाई प्राधिकरण बनाएर सशक्त रूपले लैजानुको विकल्प छैन भन्ने ठाउँसम्म ल्याई पु¥याइएको छ । बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाईभ गर्न सकिन्छ । प्राधिकरणभन्दा बाहिर गएर अहिले विद्यमान संरचना भित्रबाट सहकारी समस्या समाधान हुन्छ भन्ने कुरा सम्भव छैन भन्ने ठाउँमा पुगेको छ । र, मलाई लाग्छ–अव केही समय भित्रै हामी त्यो प्रक्रिया अघि बढाउन सक्छौँ भन्ने विश्वास अहिले मलाई भएको छ । त्यस कारण मैले अहिले सरकारको तर्फबाट तपाईँहरूलाई सुनाउने एउटा नयाँ कुरा भनेको यही नै हो । हाम्रो भित्र पनि सहकारीलाई सहकारीको मूलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर त्यसलाई पुँजीवादी बैङ्कजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाइसकेपछि विकृति त देखा पर्नु नै थियो, प¥यो । विकृति त अपरिहार्य नै थियो । त्यो विकृति देखाप¥यो । यहाँ अहिले प्रश्न आयो–फलानो पार्टी र अर्को पार्टी भन्ने । यति मात्रै छैन । हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरु गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरूले सताएका छैनन् ।’

प्रधानमन्त्री दाहालले पुँजीवादी विकृतिले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा अघि बढ्न नदिएको जिकिर गरे ।