images

बलात्कार मुद्दाको अभियोग लागेका उपसचिव साहले गरे आत्मसमर्पण

जनकपुरधाम– जबरजस्ती करणी अभियोगमा फरार रहेका मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष आत्म समर्पण गरेका छन् ।

गत वैशाख ७ गतेदेखि फरार भएका सिरहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टी निवासी शाहले प्रहरी कार्यालयमै आएर समर्पण गरेका हुन । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेको भन्दै प्रहरीले यसबारे केही बोल्न मानेको छैन ।

मधेशभवनस्थित रहेको सरकारी कर्मचारी क्वाटरमा गत माघ १८ गते राति साढे १० बजेतिर उपसचिव साहले ‘भगवान्को प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएको र बेहोस भएपछि बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । ‘त्यो राति मेरो श्रीमान् बाहिर जानुभएको थियो । प्रसाद खाएर अचेत भएपछि साहले करणी गरे,’ ,’ पीडित २०८० ०८१-२० ले प्रहरीमा दिएको उजुरीमा भनेकी छन्, ‘मुख्यमन्त्री कार्यालयमा सँगै काम गरिरहेकाले मेरो श्रीमानको साथीको नाताले रातको समयमा उपसचिव साह टेलिभिजन हेर्न पहिला पनि आउने–जाने गरिरहेका थिए । श्रीमान्‌को साथी र कार्यालयमा सिनियर भएकाले साहलाई सम्मान पनि गर्थे ।’

श्रीमान् घर ९गाउँ० गएको मौका छोपेर पीडित महिला एक्लै भएको बेला राति साढे १० बजेतिर कोठामा प्रवेश गरी प्रसाद दिएपछि खाएको र बेहोस भएको ती महिलाको दाबी छ । ‘होसमा आउँदा त मेरो सर्वस्व लुटिसकेको थियो,’ जाहेरीमा भनिएको छ ।

उपसचिव साहले जर्बजस्ती करणी गरेको भिडियो र तस्बिर देखाएर कयौंपटक करणी गरेको पीडितको दाबी छ । ‘एसिड हालेर अनुहार बिगारिदिने र ज्यान मार्ने सम्मको धम्की दिन थालेपछि उसको ज्यादती सहन बाध्य भए जर्बजस्ती करणीले गर्भमा बच्चासमेत बसेको छ । त्यो बच्चा फाल्नुपर्‍यो भन्दै दबाब दिएपछि श्रीमान्‌लाई सबै जानकारी गराएँ । अनि, न्यायका लागि उजुरी गरेकी हुँ,’ ती महिलाले भनेकी छिन ।

यस विषयलाई लिएर उपसचिव साह र पीडितका श्रीमान्‌बीच सरकारी निवासमा कुटाकुटसमेत भएको थियो । मधेशभवनमै कयौँ पटक झगडा र कुटाकुट भएपछि उपसचिव साह बिदामा बसेका थिए । बिदामै बसेको बेला उनी विरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार भएका थिए ।