images

तीन दिन अगावै भित्रियो मनसुन

काठमाडौं– बर्खायाम सुरु गराउने मौसम प्रणाली मनसुन नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार सूचना जारी गर्दै नेपालको कोसी प्रदेशबाट मनसुन भित्रिएको जानकारी दिएको हो । नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गर्छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो नेपाल प्रवेश गरेको हो । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ । भारतको उत्तर–पूर्व, बङ्गलादेश, भुटान हुँदै गत मे ३१ तारिखमै सिक्किम आइपुगेको मनसुन त्यहाँबाट १० दिनपछि नेपाल प्रवेश गरेको हो ।

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण मौसमविद्ले यसअघि नै गरिसकेका छन् ।