images

एमाले समाजवादी मोर्चामा आउन चाहेको छैनः अध्यक्ष नेपाल

काठमाडौं–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चामा नेकपा एमालेलाई समावेश गर्न खोजेको भए पनि आउन नचाहेको बताएका छन् । बुधवार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउन चाहेको बताए ।

उनले भने,’समाजवादी मोर्चा नयाँ ढङ्गले अघि बढाउन चाहिरहेका छौँ । प्रचण्ड जीले प्रक्रिया अगाडी बढाउन आग्रह गर्नुभएको छ । विभिन्न घटक र समूहरुसँग कुरा भएको छ, उनले थपे, ५ वटा घटक एक ठाउँमा हुन तयार छन् । उपेन्द्र यादवलाई पनि ल्याउन खोजेका छौँ । एमालेलाई पनि सामेल गर्न खोजेको हो, आउन चाहेको छैन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीलाई फुटाउने खोजेको भए त्यो सपना पूरा नहुने बताए । उनले पार्टीमा गयाराम भन्दा आयराम बढेको बताउँदै कसैले पार्टी फुटाउने कुचेष्टा नगर्न समेत चेतावनी दिए ।

फरक प्रसङ्गमा बोल्दै उनले आफू प्रधानमन्त्री बन्छु कि बन्दैन भनेर आफू २४ सैं घण्टा सोचेर नबसेको समेत स्पष्ट पारे । उनले आफूमाथि देशी तथा विदेशी शक्तिले डोमिनेट गर्ने कुरा नसोच्न समेत चेतावनी दिए ।