images

गिरीबन्धु टी स्टेट राज्यको सम्पत्ति होइन: सञ्चालक गिरी

काठमाडौं–झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी-स्टेट प्रा.लि.का सञ्चालक छत्र गिरीले गिरीबन्धु टी स्टेट राज्यको सम्पत्ति नभएको बताएका छन् ।

बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टी-स्टेट राज्यको सम्पत्ति नभएको बताएका हुन् । उनले पत्रकारहरूसामु गिरीबन्धु टी स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको बताए । उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गरे ।

२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय बिघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० बिघा जग्गा रहेको उनले बताए ।

सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनले बताए । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार सुरु गरेको गिरीले स्वीकार गरेका छन् । दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनको भनाइ छ ।