images

जसपा नेपालको निर्वाचन प्रक्रिया रोकियो, सहमतिबाटै नेतृत्वको टुङ्गो लगाइने

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)  नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
अध्यक्ष उपेन्द्र यादव बुधवार नै अध्यक्षमा सर्वसम्मत भइसकेको अवस्थामा निर्वाचन समितिले अन्य पदमा भने सहमति मार्फत नेतृत्व टुङ्ग्याउने भएको हो ।
तर अब अध्यक्षसहित केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत सबै जना सहमतिबाटै टुङ्गो लगाउने तयारीअनुसार बिहीबार दिउँसो निर्वाचनका सबै कार्यक्रम रोकिएको हो ।
अध्यक्ष यादवका प्रेस सल्लाहकार महेश चौरसियाले भने, ‘जसपा महाधिवेशनमा १ बजेदेखि निर्वाचन कार्यक्रम रोकिएको छ । निर्वाचनमा नगएर सहमतिमा जाने भनेर निर्वाचन प्रक्रिया रोकिएको हो । पार्टी अप्ठेरोमा रहेका बेला सहमतिको बाटो रोजिएको हो । नयाँ नेतृत्व छान्न भोट नै हाल्ने भनिएको थियो । तर अब पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू पनि सहमतिमा आउनेछन् । अध्यक्षले जाति, लिङ्ग र क्षेत्र सबै हेरेर निर्णय लिनु हुनेछ ।’
अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसालाई अनुमोदन गरिने छ । एक जना सह अध्यक्ष पदका लागि राज किशोर यादव, मो. लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै चार जना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए। एक जना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिएका थिए ।
२ जना महासचिवका लागि महिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादव ६ जनाले मनोनयन दर्ता गराएका थिए । एक महिला र २ पुरुष उपमहासचिव पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । २०१ पदका लागि तीन सय भन्दा बढीको उम्मेदवारी परेको थियो ।