images

‘फ्लोर क्रस’ गरी विश्वासको मत दिने गण्डकीका उर्जामन्त्री देवकोटा पदमुक्त

काठमाडौं– ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त भएका छन् ।

जेठ २८ मा मुख्यमन्त्री पाण्डेको पक्षमा विश्वासको मत नदिन ‘ह्विप’ जारी गरेको थियो । उनले ‘ह्विप’ उल्लङ्घन गर्दै पाण्डेलाई विश्वासको मत दिएका थिए । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले पार्टीको ह्विप उलङ्घन गरेको भन्दै देवकोटालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको थियो । उक्त सूचना सभामुखलाई दिएसँगै शुक्रवार प्रदेशसभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले वाचन गरी देवकोटा पदमुक्त भएको सूचना सुनाएका हुन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको जानकारी सहितको पत्र शुक्रवार नै संसद् सचिवालयमा बुझाएका थिए ।

शुक्रवार प्रदेशसभाको दोस्रो बैठकमा सभामुखले माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना प्राप्त हुन आएको संसद्‌मा जानकारी गराए ।

संसद्‌मा सभामुख धितालले भने, ‘प्राप्त सूचनाअनुसार ०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ अन्तर्गत गोरखा २ ९ख० बाट माओवादी केन्द्रको एकल चुनाव चिह्न गोलाकारभित्रको हँसिया–हथौडा तथा दलका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको उम्मेदवारको आधिकारिक पत्र प्राप्त गरी निर्वाचनमा उम्मेदवार भई देवकोटा निर्वाचित भई माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको सदस्य रहेकोमा नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा गण्डकी प्रदेशसभा नियमावली २०८० प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गरी दल त्याग गरेको व्यहोरोको सूचना राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम प्राप्त हुन आएकोले सोही ऐनको दफा ३५ र गण्डकी प्रदेशसभा नियमावली २०८० को नियम २०७ समेतको कानुनी व्यवस्थाअनुसार सभासमक्ष जानकारी गराउँदछु ।’

प्रदेशसभा सचिवालयको वेबसाइट, निर्वाचन आयोगमा आफू नेसपाकै सांसदका रूपमा रहेको भन्दै देवकोटाले आफू माओवादी केन्द्रको प्रदेश सभा सदस्य नरहेको तर्क गर्दै आएका छन् ।