images

नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होलाः मेयर बालेन शाह

काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाको नगर सभामा कांग्रेस एमाले भन्दै त्यसको धङधङी नबोक्न चेतावनी दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत नगर प्रमुख शाहले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकारमाथि हनन भएको आरोप लगाएका छन् ।

उनले लेखेका छन् ,’३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकारमाथि हनन भयो । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगर सभा लाइभ गर्ने गरेका हौँ ।’

उनले थप्दै भनेका छन्,’नगर सभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगर पालिकाले गर्दैन । काठमाडौँ महानगरपालिकाको नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’

स्वतन्त्र रूपमा महानगरपालिकाको मेयरका रूपमा निर्वाचित भइसकेपछि नगर प्रमुख शाहले महानगरपालिकाको कार्यपालिकाको बैठक लगायत नगर सभा समेत प्रत्यक्ष रूपमा लाइभ गर्ने गरेका छन् । तर दलीय रूपमा विजेता बनेका वडाध्यक्षहरू मार्फत सहयोग नभएको भन्दै उनले बेला बेलामा आक्रोश समेत व्यक्त गर्दै आएका छन् ।