images
images

मधेश प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छः सांसद मैनाली

काठमाडौं– नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले मधेस प्रदेशमा हत्याका घटनाहरू बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा दिनदहाडै हत्याका शृङ्खलाहरू बढ्दै गएको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले भारतबाट खुला सीमाका कारण नेपालमा आइ हत्या गर्ने, सुटरहरु नेपाल प्रवेश गर्ने र हत्या गर्ने हुनाले हत्याका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै रोकथामका लागि आवश्यक पहल गर्न आग्रह गरे । उनले अपराधीलाई अविलम्ब नियन्त्रण गरी कानुनको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

उनले भने, ‘बारा जिल्लामा यो चौथो घटना हो । एक वर्षको अवधिमा गत असोजमा पनि कलैया सदरमुकामको चोकमा दिन दहाडै एक निजी स्कुलका प्रिन्सिपलमाथि आक्रमण भयो । उहाँको हत्या भयो । भदौ महिनामा पनि भारतका व्यक्तिलाई नेपालमा ल्याएर हत्या गरियो । यो हत्याको शृङ्खला बढ्दै गइरहेको छ । दुर्भाग्यको कुरा सुटर भारतबाट आएर नेपालमा आउने, खुला सीमा, हातहतियारहरूको ओसारपसारले गर्दा मधेस खास गरी सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित भएका छन् । मधेसमा एक दशकअघि जुन राजनीतिक आवरणमा हत्या र हिंसाका शृङ्खला भएको थियो, धेरै मानिसहरू विस्थापित हुनुप¥यो । त्यो पीडालाई बिर्सिएर मधेस सङ्लिँदै गइरहेको अवस्थामा हत्या जुन हिसाबले बढ्दो रूपमा छ । यसको अविलम्ब नियन्त्रण, अपराधीलाई कानुनको दायरामा ल्याउनको लागि र सीमा पारीको प्रशासनसँग पनि समन्वय गरेर प्रशासनले सक्रियता अपनाओस् । सम्बन्धित निकायमा आवश्यक निर्देशनको लागि सम्माननीय सभामुखमार्फत अनुरोध गर्दछु ।’

उनले सीमा पारीको प्रशासनसँग समन्वय गरेर प्रशासनले सक्रियता अपनाउन आवश्यक रहेको बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS