images

बजेट स्थानीय तह केन्द्रित हुन सकेनः सांसद खतिवडा

काठमाडौं– नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा “विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले बनाउनुपर्ने स्थानीय तह भए पनि बजेटमा सङ्घ केन्द्रित गरिएको बताए । उनले । प्रदेश र स्थानीय तहलाई दरो बनाउने कुरा बजेटमा उल्लेख हुन नसकेको बताए । उनले प्रशासनमा प्रशासकीय प्रमुखहरू एक महिनामा ४ पटकसम्म परिवर्तन हुने पद्धति रहेको भन्दै यसलाई अन्त्य गर्न आवश्यक रहेको बताए । उनले विगतकै पद्धतिको निरन्तरता हुने हुने हो भने सङ्घीयता र अहिले बनाएका कानुनको अर्थ नहुने बताए । उनले सामान्य प्रशासन र सङ्घीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरू स्थापित गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले अहिले बनाउनुपर्ने स्थानीय तह हो । तर हामी अहिले स्थानीय तह भन्दा सङ्घतिर केन्द्रित भएको बजेटमा उल्लेख गरिएको छ । प्रदेश र स्थानीय तहलाई दरो बनाउने कुराहरू अहिले कहीँ उल्लेख गरिएको छैन । प्रशासनमा प्रशासकीय प्रमुखहरू एक महिनामा ४ पटकसम्म परिवर्तन हुने पद्धति छ, यसलाई हामी कसरी नियन्त्रण गर्न सक्छौँ, हिजो जे पद्धति थियो संविधान लागू भइसकेपछि पनि त्यही पद्धतिलाई निरन्तरता दिने हो भने अहिले हामीले ल्याएको सङ्घीयता र अहिले बनाएको कानुनको अर्थ नरहने हुँदा सामान्य प्रशासन र सङ्घीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरू स्थापित गर्नुपर्छ । अहिलेको पद्धति हेर्दा हामीलाई अप्ठ्यारो लागेको छ । मुख्यमन्त्रीहरूको अवस्था हेर्दा एउटा विद्यार्थीले पढ्दै गर्दा एउटा मुख्यमन्त्री हुन्छ, अर्कोले जाँच दिने बेलामा अर्को भइसकेको हुन्छ । त्यसको उत्तर कुन सही हो भनेर छुट्टाउन गाह्रो हुन्छ, यसले समाज कहाँ जान्छ । सुशासन झनै कमजोर हुँदै गइरहेको महसुस भएको छ ।’

उनले सुशासन झनै कमजोर हुँदै गइरहेको बताए ।