images

ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यकः अध्यक्ष लिङदेन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको आरोप लगाए । उनले मन्त्री भएर बजेट छुट्टाउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरू चुकको बताए । उनले ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्न सक्ने भएकाले सामान्य हिसाबले खर्च भाग लगाएर र नियमित कार्यक्रमले मात्रै उपलब्धि हासिल गर्न नसकिने बताए । उनले ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको बताए । उनले बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरू बजेटमाथिको छलफलमा भाग लिइरहेको बताए ।

उनले भने, ‘बजेट कुन प्रकारले बन्यो, अहिले पूरै हाउस बोलिराखेको छ । कुन प्रकारको पूर्वाग्रह प्रयोग गरियो, अर्थमन्त्रीजीले, मन्त्रीजीहरूले जनताका प्रतिनिधिहरूलाई जसरी पनि छलफलका क्रममा अवरोध नआओस् भनेर खुसी पार्न सूचिहरू माग्नुभयो, उभ्याउनु भयो । र अहिले प्रिन्ट गर्ने बेलामा केके भयो भन्ने कुरा सबै सार्वजनिक भइसकेको छ । तपाईँहरूले मौका पाउनु भयो । मौका पाएको बेलामा यो चाहिँ हामी फेरि तल आउनुपर्छ, हामी कहिले कहीँ पद भन्दा बाहिर हुनुपर्छ भन्ने कुरा बिर्सिएर मौका यही हो र सधैँभर भइन्छ भनेर जुन गर्नुभएको छ । हामीले यहाँ जति छलफल गरे पनि संशोधन हुँदैन, परिवर्तन हुँदैन भन्ने कुरा सबैलाई थाहा छ । खालि रेकर्डका लागि बजेटप्रति असहमति व्यक्त गर्न मात्रै हामी यहाँ उभिएका छौं ।’

उनले सन्तुलन मिलाउन नसक्दा अहिले लोड सेडिङ भइरहेको बताए । उनले विदेशीको हातमा आयोजना राख्न दिने भन्दा पनि आफ्नै लगानीबाट नेपालमा ऊर्जाको उत्पादन गर्न आवश्यक रहेको बताए ।