images

विश्वकपबाट बाहिरियो नेपाल

काठमाडौं- टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेश सँग २१ रनले पराजित भएको छ। बंगलादेशसँगको हारसँगै नेपाल विश्वकपबाट बाहिरिएको छ ।

बङ्गलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो। टस जितेर पहिले बलिङ गरेको नेपालले बङ्गलादेशलाई दबाबमा राखेको थियो । नेपाली बलरसामु कमजोर रहँदै १ सय ६ रनमा समेटिएको बङ्गलादेशले कमजोर स्कोर पनि रक्षा गर्‍यो। बङ्गलादेशका लागि सकिब अल हसनले १७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक महमदुल्लाह र ऋसद होसेइनले समान १३र१३ रन बनाए। थप दोहोरो स्कोरका रूपमा लिटन दासले १० र तस्किन अहमेदको १२ रन रह्यो।

बङ्गलादेशलाई सस्तैमा पेभिलियन फर्काउने क्रममा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २९२ विकेट लिएका थिए। सन्दीपले बङ्गलादेश विरुद्ध २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रियमा १ सय विकेट पुरा गरेका छन्।

१ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल खराब सुरुवातको सिकार हुँदा मध्य क्रमले केही सयम इनिङ समाले पनि जितका लागि पर्याप्त भएन। नेपालका लागि कुशल मल्लले २७ र दीपेन्द्र सिंह ऐरीले २५ रन बनाउनु सर्वाधिक रह्यो। यी दुईबाहेक आसिफ शेखले १७ रन बनाए।

बङ्गलादेशका लागि तनजिम हसन सकिबले ४ विकेट लिँदा मुस्ताफिजुर रहमानले ३ विकेट लिए। त्यस्तै सकिब अल हसनले २ विकेट लिँदा तस्किन अहमदले १ विकेट लिए।

दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौका भए पनि पुन एक पटक निराश बनेको छ। नेपाललाई हराएको बङ्गलादेशले सुपर आठमा पुगेको छ ।