images

 आन्दोलनरत ट्याङ्कर चालक र सरकार  बीच सहमति, पेट्रोलियम पदार्थ वितरण गरिँदै

काठमाडौं– सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि सङ्घले आन्दोलन फिर्ता लिने भएको हो ।

चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको नेतृत्वमा भएको वार्तापछि  सङ्घले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्ने लगायतका सहमति गरिएको हो । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ ।

निगमको नायब कार्यकारी निर्देशकको संयोजनमा बन्ने समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए । उनका अनुसार आजैदेखि आन्दोलन फिर्ता लिएर इन्धन ढुवानी हुने छ ।

आइतबार साँझदेखि पेट्रोलियम पदार्थ वितरणमा रोक लगाउँदा लाखौँ सवारी चालकहरू मर्कामा परेका थिए ।