images

संसद् सचिवालयका कर्मचारीद्वारा महासचिवको कार्यकक्ष घेराउ

काठमाडाैं– सङ्घीय संसद् सचिवालयका कर्मचारीहरूले संसद्का महासचिवको कार्यकक्ष घेराउ गर्दै विरोध गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरस्थित संसद्का महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीले संसदमा अतिरिक्त समयमा काम गरे बापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् । कर्मचारीहरूले आन्दोलनका क्रममा हातमा कालो पट्टीसमेत बाँधेर विरोध जनाएका थिए । उनीहरूले संसदमा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरू थप गर्न माग गर्दै उनीहरूले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् । संसद् सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको सयमय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधाको सुनिश्चितता हुनुपर्ने माग गरे । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

संसद् सचिवालयका कर्मचारीहरू ११ बुँदे मागसहित आन्दोलनमा छन् । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूले सोमवार कर्मचारीहरूसँग छलफल गरेका थिए ।