images

अति बाढीग्रस्त क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची र पाँच पोखरी क्षेत्र सरकारकै उपेक्षामा

 

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक विपद्को चपेटामा परेको जिल्ला हो । भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकका जनता वर्षा सुरु भएपछि सशङ्कित हुन्छन् । कति बेला कहाँ पहिरो जाने हो कुनै टुङ्गो छैन । कयौँ परिवार जोखिमपूर्ण क्षेत्रमै बसिरहेका छन् । सरकारले पटक पटक स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन । सरकार आफैले अति बाढीग्रस्त क्षेत्र घोषणा गरेको हेलम्बु, मेलम्ची र पाँच पोखरी क्षेत्रमा पुर्नस्थापनाका लागि बजेट नै विनियोजन नगरेपछि उनीहरू आक्रोशित बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले बताए ।

२०७८ असार १ र २९ गते तथा साउन १६ र १७ गते मेलम्ची नदीमा आएको बाढीले हेलम्बु, मेलम्ची र पाँच पोखरीको नदी किनारका क्षेत्रमा ठुलो जनधनको क्षति पुगेको थियो । त्यसपछि उक्त क्षेत्रलाई सरकारले अति बाढीग्रस्त क्षेत्रका रूपमा घोषणा ग¥यो । तर सरकारले त्यस क्षेत्रको पुन निर्माण र बाढी नियन्त्रणमा भने कुनै परिणाममुखी कदम नचालेको पाँच पोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले बताए । पुनर्निर्माण र पुनर्संरचनाको प्रक्रिया समेत झन्झटिलो भएका कारण स्थानीय तहले समेत आफ्नो योजना अनुसार काम गर्न नपाएको स्थानीय तहको गुनासो छ ।

प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद् पूर्व सूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको आवश्यकता छ । तर केन्द्र सरकार भने स्थानीय तहका समस्यालाई नजरअन्दाज गर्दै आएको छ ।

२०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना प्रभावित भएका थिए ।