images

छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

काठमाडौं–राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गरेका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका हुन् । उनले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सधैँ जसो मन्त्रीलाई पत्र पठाउने गरेको भए पनि चासो नदेखाएको बताए । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूको कार्य तालिका नै बनाएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।

उनले भने, ‘आकस्मिक समय, शून्य समय लगायत जुन समयमा मान्य सदस्यहरूले विषय उठाउनु हुन्छ, ती विषयहरू सधैँ जसो सम्बन्धित मन्त्री कहाँ पठाउने पनि गरेका छौँ । हरेक दिन पठाएका छौँ । यहाँ उठेका विषयहरूका बारेमा जवाफ दिन मन्त्रीहरूको कार्य तालिका नै हामीले दिइसकेका छौँ । यी सबै विषयमा हामीले गम्भीर ढङ्गले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ । आज उठेका विषयहरू जो छन्, अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु ।’

आइतबारको बैठकमा सांसदहरूले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए ।