
सिरहा– सिरहाको गोल बजार स्थित रामप्रसाद राम प्रताप तामाङ जनता बहुमुखी क्याम्पसका प्रमुख किशोर कुमार साहले करोडौँ रकम घोटाला गरेको तथ्य बाहिरिएको छ। क्याम्पसका प्रमुख साहले सञ्चालक समितिलाई राजनीतिक र आर्थिक प्रभावमा पारेर रकम हिनामिना गरेको रहस्य बाहिरिएको हो।
उनले क्याम्पसकै केही प्राध्यापकलाई समेत प्रभावित बनाएर एक दशकदेखि आफ्नो लुट गर्दै आएका छन् । उनले एक जना विद्यार्थीबाट क्याम्पस सभाले तोके भन्दा वार्षिक ४ हजार पाँच सय देखि ६ हजार पाँच सय बढी रकम लिने गरेका छन् ।
गत वैशाख २२ गते क्याम्पस सभामा सार्वजनिक गरेको ‘वार्षिक प्रतिवेदन २०८०’ मा गत आर्थिक वर्ष २०७९/०८० भन्दा अघिसम्म विभिन्न शीर्षकमा प्रति विद्यार्थी ११ हजार पाँच सय ५० रुपैयाँ लिने उल्लेख छ। सोही अवधिमा विद्यार्थीसँग भने उनले १६ देखि १८ हजारसम्म लिने गरेको पाइएको हो।
क्याम्पसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९/०८० मा एक हजार चार सय ७५ जना विद्यार्थीको नामाङ्कन भएको छ। विद्यार्थी सङ्ख्याको आधारमा हिसाब गर्ने हो भने पनि एक वर्षमा मात्रै करिब ६६ लाख देखि ९६ लाख रुपैयाँ अपचलन गरेको स्रोतले जनाएको छ।
त्यसै गरी, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय ७ जना विद्यार्थीको नामाङ्कन भएको छ। यस वर्ष पनि क्याम्पस प्रमुख साहले करिब ५९ देखि ८५ लाख रुपैयाँको हिसाब प्रस्ट देखाएका छैनन् ।
यसरी उनले विद्यार्थीसँग लिएको बढी रकमको हिसाब कतै देखाएको छैन। २०८०/०८१ बाट मात्र उनले प्रति विद्यार्थी विभिन्न शीर्षकमा वार्षिक रूपमा २० हजार रुपैयाँ लिने निर्णय गरेको छ। तर, विद्यार्थीसँग सो भन्दा बढी रकम असुल गरेको विद्यार्थीहरूको आरोप छ।
यसरी क्याम्पस प्रमुख साहले आफ्नो कार्यकालमा सात करोडभन्दा बढी रकम झ्वाम पारेको छ। सर्वसाधारणले पनि नाङ्गो आँखाले देख्ने गरी क्याम्पस प्रमुख साहले करोडौँ रकम गोलमाल गरेको देखिन्छ। जुन विद्यार्थीसँग असुल गरेर क्याम्पसको कुनै हिसाबमा उल्लेख नै गरेको छैन।
थेशिस लेखिदिने नाममा एक दशकमा करिब २ करोड भन्दा बढीको घोटाला
क्याम्पस प्रमुख साहले स्नातकोत्तरका विद्यार्थीहरूसँग थेशिस लेखी दिने भन्दै आफ्नो कार्यकालमा करिब २ करोड भन्दा बढी रकम घोटाला गरेको पाइएको छ । उनले स्नातकोत्तरका विद्यार्थीसँग थेशिस बापत पनि ठुलो रकम हिनामिना गरेको पाइएको हो।
क्याम्पस प्रमुख साहले प्रति विद्यार्थी ३० देखि ५० हजारसम्म असुल्ने गरेको विद्यार्थीहरू नै बताउँछन्। क्याम्पसले सार्वजनिक गरेको विद्यार्थी सङ्ख्याको आधारमा तीन वर्षको अवधिमा मात्र दुई सय ३४ जना विद्यार्थीले स्नातकोत्तर गरेको देखिन्छ। समग्रमा प्रति विद्यार्थी ३५ हजारका दरले उनले दिएको प्रतिवेदनको आधारमा मात्र तिन वर्षका हिसाब जोड्दा पनि ८१ लख रकम असुली गरेको देखिन्छ।
यसले विद्यार्थीहरूले आर्थिक मार त व्यहोर्नु परेको छ नै उनीहरूको सृजनशीलता, विषय खोजी गर्ने सीपको क्षय तथा विषय विज्ञताको विकासमा पनि कमी हुने जानकारहरू बताउँछन्। थेशिस विद्यार्थीले आफ्नो विषय विज्ञताको लागि गर्ने शोध हो तर यहाँ क्याम्पस प्रमुखले चन्दा पैसाको लोभमा यसमा पनि विद्यार्थीलाई अड्काउने गरेको विद्यार्थीहरूको गुनासो रहेको छ ।
कुनै विद्यार्थी आफैले मेहनत गरेर थेशिस लेखेर ल्यायो भने पास नगरिदिने, विभिन्न बहानामा अलमल्याउने, पैसा मागेर दुःख दिने गरेको विद्यार्थीको गुनासो छ। एक विद्यार्थीले आफैले तयार पारेको थेशिस क्याम्पस प्रमुख साहलाई पछिल्लो ९ महिनाको अवधिमा ४ पटक बुझाउँदा पनि नहेरिदिएको स्पेस समाचारसँग दुखेसो व्यक्त गरे । ती विद्यार्थीले भने, ‘मैले क्याम्पस प्रमुख साहलाई ९ महिनाको अवधिमा ४ पटक थेशिस प्रिन्ट गरेर दिए। सोही अवधिमा उनले क्याम्पस प्रमुख साहको ई सेवामा दुई पटक १५र१५ का दरले ३० हजार गरेर बुझाए। तर, अहिलेसम्म थेशिस हेरि दिएको छैन।
साहले विद्यार्थीसँग थेशिस बापत लिने गरेको रकमको हिसाब समेत वार्षिक प्रतिवेदनमा कहीँ कतै उल्लेख छैन। यो तथ्यले पनि क्याम्पस प्रमुख साहले रकम अपचलन गरेको प्रस्ट अनुमान गर्न सकिन्छ ।
उनले क्याम्पसको नाममा विभिन्न सामान खरिद गर्दा सञ्चालक समितिलाई समेतपछि जानकारी नदिने गरेको समितिका एक सदस्यले बताए। उनले भने, ‘हामीलाई केही सामान किन्दा कुनै जानकारी नै हुँदैन। किनेर ल्याइसकेपछि मात्र हामीले जानकारी पाउँछौँ। खरिद प्रक्रिया पनि अपारदर्शी छ।’
सबैभन्दा घतलाग्दो विषय हजारौँ विद्यार्थी सङ्ख्या, वार्षिक करोडौँ कारोबार हुने यस क्याम्पसमा एक जना लेखापालसमेत छैन। एक जना पुस्तकालय हेर्न भनेर नियुक्त भएका व्यक्तिले विद्यार्थीको रसिद काट्ने काम गर्छ। बाँकी सबै हिसाब क्याम्पस प्रमुख साहले नै गर्ने भएकाले पनि यहाँ हिनामिना हुने गरेको सञ्चालक समितिका सदस्यहरू नै बताउँछन्।
यस विषयमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सूर्यमान लामाले भने मिश्रित खालको जवाफ दिए । उनले भने, ‘क्याम्पस प्रमुख साहको केही कमजोरीहरू पनि छन्। तर, उहाँ राम्रो मान्छे हो।’
क्याम्पस प्रमुख साहसँग यस विषयमा बुझ्न खोज्दा भेटेरै कुरा गरौँ भन्ने, भेट्दा तपाईँहरू मेरो विरुद्धमा लाग्नु नै भएको छ, जे मन लाग्छ त्यही लेख्नुस् भन्दै उल्टै पन्छिन खोज्छन्।
हेर्नुहाेस् केही तथ्यहरू