images
images

अस्थिर सरकारका कारण नागरिकका मुद्दा ओझेलमा !

काठमाडौं– अस्थिर सरकार र निजी स्वार्थपूर्ति गर्ने सरकारको गतिविधिदेखि नागरिक आजित भएका छन् । पटक पटक सरकार परिवर्तनमा राजनीतिक दलहरू रुमलिँदा नागरिकका समस्या झनै बढी रहेका छन् । अझ भनौँ आम नागरिकले पछिल्लो समय सरकार भए नभएकोमा कुनै वास्ता छैन । अहिले वृद्ध वृद्धादेखि युवा जनशक्ति नेपालमा भविष्य नभएको भन्दै विदेशीन बाध्य भएका छन् । देश बन्न त नागरिकहरूले काम गर्नुपर्छ । राज्यले भरपुर सहयोग गर्नुपर्छ ।

तर, समाज भड्काऊ प्रवृत्तिको सिकार हुँदै गएकोले नागरिकमा काम गर्ने संस्कार हराउँदै र सरकारले सहज वातावरण बनाउन नसक्दा नागरिकहरूको सरकार र राजनीतिक दलहरूप्रति वितृष्णा बढेको छ । सत्ता र सरकार कसरी टिकाउने भन्ने दाउमा सरकार लागि रहँदा नागरिकका समस्या झनै बढेका छन् । आम नागरिकको विदेशीने लर्को छ भने सरकारले मुख दर्शक बन्दै गएको छ । देशमा विभिन्न राजनीतिक दलहरू आए तर नागरिकको गुनासो र अपेक्षा अनुसार काम गर्ने कुनै दल आएनन् ।

सर्वसाधारण समेत सरकारका गतिविधिबाट आजित भएर निराश देखिएका छन् । त्यस्तै मध्येका एक हुन बैतडीका गणेश शाही। उनले आफूलाई सरकारबाट कुनै अपेक्षा नरहेको बताए । उनले सरकार जनताका समस्या भन्दा पनि कुर्सीकालाई राजनीतिक दलहरू अग्रसर हुँदै गएको बताए । उनी भन्छन्,अहिले प्रत्येक नागरिकमा निराशा छाएको छ । विकास भएको छैन , रोजगारी सिर्जना हुन सकेको छैन नागरिकहरू विदेशीन बाध्य छन् । उनले सरकार बदल्न र टिकाउन मात्रै राजनीतिक दलहरू लागेको बताए ।

त्यसै गरी अर्का सर्वसाधारण राम शर्माको धारणा पनि शाहीकै जस्तो छ । उनी भन्छन्,राज्यले नागरिकका आधारभूत आवश्यकता समेत पुरा गर्ने सकेको छैन । आम नागरिकलाई अहिले नेपालमा बस्नु पर्ने अवस्था छैन ।

उनले सरकारले नागरिकलाई केही गर्ला भन्ने चाहाना राखेको भए पनि सरकार त्यसबाट चुकेको भन्दै नैराश्यता प्रकट गरे । सरकारप्रति नागरिक तहबाट उठ्ने गुनासाहरूलाई स्वाभाविक रूपमा ग्रहण गर्दै आगामी दिनहरूमा सरकारका काम कारबाहीहरूलाई तीव्र गतिमा अघि बढाउनका लागि सरकारका गतिविधिहरूको समीक्षा आवश्यक छ । तर, राज्य जनताका समस्याभन्दा आफ्नै स्वार्थका लागि तल्लीन छ ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल नागरिकको राजनीतिक दल र नेताहरूप्रति विश्वास घट्दै गएको बताउँछन् । घोषणापत्र, सङ्कल्प पत्र र वाचा पत्रमा महत्त्वाकाङ्क्षी योजना लेख्ने, ठुला–ठुला भाषण गर्ने र आकाश छुने प्रतिबद्धता व्यक्त गर्ने, तर कार्यान्वयन पक्ष अति नै फितलो हुँदा देशको अवस्था जर्जर हुँदै गएको र युवाहरू पलायन हुने क्रम पनि बढ्दै गएको दाहालको विश्लेषण रहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS