images

लागूपदार्थ न्यूनीकरणका लागि पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्छ: मन्त्री श्रेष्ठ

काठमाडौं–शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्ने बताएकी छिन् ।
बुधवार लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । उनले लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसार गर्न नहुने सचेतना फैल्याउने विषय पाठ्यक्रमहरूमा समावेश नभएको भन्दै मन्त्रालयले समाजसँग पाठ्यक्रम भनेर सो अभियान सुरु गरेको बताइन् ।
उनले पाठ्यक्रममा विज्ञान र गणित मात्रै नभएर समाजको आवश्यकतालाई पनि समावेश गरी सचेत गराउन आवश्यक रहेको बताइन्  । उनले डिग्नेफाइट अफ मेन्सुरेशन र मेन्टल हेल्थमा पनि काम गर्न आवश्यक रहेको बताइन् । लागु औषध दुरुपयोगमा फसेकाहरूको अभिमुखीकरण गर्ने थेरापिष्टहरुलाई लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताइन् ।
शिक्षामन्त्री श्रेष्ठले भनिन्,‘नेपालमा अहिले थेरापिष्टहरुको लागि काउन्सिलरहरुको लागि लाइसेन्सको प्रावधान छैन । त्यसमा हामी नेपाल हेल्प प्रोफेसनल काउन्सिलसँग मिलेर काम गर्दैछौं । कसैलाई सहयोग चाहियो भने लाइसेन्स छैन । लाइसेन्स भयो भने सहयोगी सेन्टरहरू धेरै हुन्छ । हामीले प्रिभेन्सलमा कुरा गर्दा विद्यालयका पाठ्यक्रमहरूमा यस्ता कुराहरू समावेश नगरेको रहेछ । त्यही क्रममा समाजसँग पाठ्यक्रम भनेर मन्त्रालयले लन्च गरेको छ । विज्ञान,म्याथ मात्रै होइन । समाजको चाहनालाई समावेश गरेर डिग्नेफाइट अफ मेन्सुरेशनमा काम गर्नु छ । यसरी मेन्टल हेल्थमा पनि काम गर्नु छ । यसमा धेरै सटल सन्देशहरू हुन्छ । काम गरिरहेकाहरूलाई थाहा छ कसरी टेक कियर गर्न सकिन्छ । तपाईँहरूले पाठ्यक्रममा सुझाव दिनुहोला । यसका विभिन्न पक्षहरूलाई समावेश गराैं । त्यसलाई पाठ्यक्रममा समावेश गरौँ । त्यसको लागि म सहयोग गर्न तयार छु ।’
उनले लागूपदार्थ दुर्व्यसनीमा लाग्नबाट बालबालिका तथा युवाहरूलाई बचाउन सबैले सहयोग गर्न आवश्यक रहेको बताइन् ।