images

बुढीगण्डकीकाे काम अघि बढाउन डा. भट्टराइले प्रधानमन्त्री प्रचण्डलाई दिए भदौसम्मको अल्टिमेटम

काठमाडौं–नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि  कोरिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छन् ।

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा बुढी गण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ । अधिकार र साधन स्रोत सम्पन्न बुढी गण्डकी कोरिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्व प्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए ।

त्यस्तै प्राधिकरणमार्फत समग्र बुढी गण्डकी कोरिडोर विकासका कामहरू तीव्रताका साथ अगाडी बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा.भट्टराईले भने, ‘अहिलेजस्तो विद्युत् प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशङ्का हिजोदेखि भएका थिए, त्यसलाई बल पु¥याउनेगरी यसलाई तुहाउने अथवा बनाइहालियो भने पनि सानो जलविद्युत आयोजनाको रूपमा बनाउने । त्यतातिर जाँदै छ भन्ने हामीलाई लाग्छ, त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ । उहाँहरूले चाहेमा सांसदमार्फत बुढी गण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडी बढाउन सक्नुहुन्छ । हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ । माग पुरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ ।’

पूर्व प्रधानमन्त्री भट्टराईले आफूहरूको माग भाद्र महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए ।