images

सोह्र खुट्टे-बालाजु सडक भासियो

काठमाडौं–काठमाडौंको सोह्र खुट्टे-बालाजु सडक भासिएको छ ।

बुधवार सोह्र खुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । बुधवार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।

सडक विभागले काठमाडौं महानगरपालिकासँग रिसिबी साध्नका लागि  पोल पोलमा स।वि। लेख्दै हिँडेको र आम नागरिकको ज्यान जाने गरी सडकमा खाल्डो पर्दा समेत वास्ता नगरेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो ।

मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य भने सकुशल छन् । उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी लगायतको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।