images

नौ महिना अगावै सकियो भोजपुरको राउटे खोलाको पक्की पुल

भोजपुर– भोजपुरको राउटे खोलामा निर्माणाधीन पक्की पुल, सम्झौता अवधिभन्दा ९ महिना अगावै सम्पन्न भएको छ । चैतसम्ममा बन्नुपर्ने पुल अहिले नै सम्पन्न भएपछि वर्षायाममा ज्यान जोखिममा राखेरै खोला तर्नुपर्ने स्थानीयको बाध्यता टरेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको राउटे र लेक खर्क जोड्ने राउते खोलामा पूर्वाधार विकास कार्यालय भोजपुरको तीन करोड ५७ लाख रुपैयाँ लगानीमा पक्की पुल निर्माण सुरु भएको थियो । उक्त पुल, सम्झौता अवधिभन्दा ९ महिना अगावै सम्पन्न भएको छ । चैतसम्ममा बन्नुपर्ने पुल अहिले नै सम्पन्न भएपछि वर्षायाममा ज्यान जोखिममा राखेरै खोला तर्नुपर्ने बाध्यता टरेको स्थानीय मिलन तामाङले बताए ।

उक्त पुल बनेपछि छिमेकी जिल्ला खोटाङ तथा पश्चिमी भोजपुरका नागरिकलाई सदरमुकामसम्म पुग्न सहज भएको तामाङको भनाइ छ । खोलामा पुल नहुँदा गत वर्ष पनि खोला तर्ने क्रममा एक जनाले ज्यान नै गुमाएका थिए । २०७९ बाट निर्माण सुरु भएको यो पुल निर्माण अवधि भन्दा नौ महिना अगावै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोले जानकारी दिए ।

ओपन फाउन्डेसनमा बनेको पुल निर्माणमा प्रादेशिक सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग रहेको छ । १६ मिटर लम्बाई रहेको पुलको फुटपाथसहित आठ मिटर चौडाइ रहेको छ ।