images

क्षतिग्रस्त विद्युतीय पोल परिवर्तन नगरिँदा जोखिम बढेको भन्दै स्थानीय आक्रोशित

कपिलवस्तु–कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा क्षतिग्रस्त बनेको विद्युतीय पोल परिवर्तन नगरिँदा जोखिम बढेको छ । पोल फेर्न सम्बन्धित निकायले ढिलासुस्ती गर्दा कुन बेला दुर्घटना हुने हो भन्नेमा स्थानीय त्रसित बनेका छन् ।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा नगरपालिका –१ गौडी चोकमा रहेको विद्युतीय पोल एक हप्तादेखि क्षतिग्रस्त छ । सवारीको ठक्करबाट भाँचिएको पोल तारको सहारामा मात्रै अडिएको छ । दिनदिनै परिरहेको वर्षा र जुनसुकै बेला ढल्न सक्ने क्षतिग्रस्त पोलका कारण अप्रिय दुर्घटना हुने हो कि भन्नेमा त्रसित बन्नु परेको स्थानीय केशवप्रसाद गुप्ताको गुनासो रहेको छ ।

कपिलवस्तुको सदरमुकाम तौलिहवाको प्रमुख बजार गौडी चोक क्षेत्रमा पोल भाँचिएको खबर पाएसँगै सोही वडाका वडाध्यक्षले विद्युत् प्राधिकरण कपिलवस्तु शाखाका प्रमुखलाई फोनमार्फत तत्काल व्यवस्थापन गर्न अनुरोध समेत गरेका थिए । तर एक हप्ता बितिसक्दा पनि प्राधिकरण अहिलेसम्म चासो नदेखाएको कपिलवस्तु वडा नम्बर एकका वडाध्यक्ष मोहम्मद जाहिद खाले बताए ।

धनजनकै क्षति हुनसक्ने अवस्थामा पनि प्राधिकरण भने स्थलगत निरीक्षण गर्दा न्यून जोखिम भएकाले केही ढिलाइ मात्र भएको नेपाल विधुत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए ।
केही दिन अघि नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्र कपिलवस्तुका कर्मचारीकै ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर मृत्यु भएको छ । यहाँ पनि यस्तो दुर्घटना नहोला भन्न सकिँदैन ।